‘नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्ट’ को साहित्यिक कार्यक्रम, पूर्वमन्त्रीेदेखि चिकित्सकसम्मले सुनाए कविता

काठमाडौं, ११ पुस । पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, चर्चित कवि रजनी मिलालगायत करीब आधा दर्जन कविले कविता वाचन गर्नुभएको छ ।

‘नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्ट’ ले आयोजना गरेको कविता वाचन कार्यक्रममा उहाँहरुले कविता वाचन गर्नुभएको हो । उक्त ट्रष्टले आफ्नो पाँचौँ वार्षिक साधारण सभाको अवसर पारेर कविता वाचन कार्यक्रमको आयोजना गरेको हो । २०७७ सालमा स्थापना भएको उक्त ट्रष्टले नेपालमण्डलको सभ्यता, कला र वाङ्मयको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

ट्रष्टका अध्यक्ष सन्ध्या बज्राचार्यको अध्यक्षता र वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर शाक्यको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री शाक्यले आफ्नो मन्तव्यसँगै ‘अस्तित्वको खोजी’ र ‘प्रेमको दस्तावेज’ शीर्षकका दुई कविता वाचन गर्नुभएको थियो ।

शाक्यले नेपालको इतिहास, मौलिक संस्कृति र बहुभाषिक साहित्यको क्षेत्रमा क्रियाशील रहँदै आएको उक्त संस्थाले आगामी दिनमा थप अनुसान्धानका काम गरेर संस्थालाई थप उचाइमा लैजानेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।

भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले ‘देश आज एउटा पासपोर्ट खोजिरहेको छ’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यले ‘अनित्यताको वोध’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा अञ्जना ताम्राकारले ‘सहिदकी आमाको पुकार’ र रजनी मिलाले ‘एउटा रोमाञ्चक पत्र’ सँगै ‘अस्मिता’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

त्यसैगरी वागमती भाईले ‘हुन्छ’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने दीपेन्द्र श्रेष्ठले ‘बाल्यकाल र म’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

ट्रष्टका अध्यक्ष सन्ध्या बज्राचार्यले ‘सकारात्मक सन्देश’ र सञ्जित महर्जनले ‘प्रिय’ कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा ट्रष्टका निवर्तमान अध्यक्ष एवं पत्रकार श्याम स्मृतसँगै निवर्तमान संचालक एवं पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । उहाँहरुलाई प्रमुख अतिथि डा. शाक्य मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सञ्चालक विजय लक्ष्मी शाक्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम रावी शाक्यले सञ्चालन गर्नुभएको थियो ।