समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगको आग्रह, पुस १३ र १४ को समयसीमा

काठमाडौँ, १२ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

आयोगले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै तोकिएको विधि र प्रक्रिया पूरा गरी बन्दसूची बुझाउन निर्देशन दिएको हो ।

आयोगका अनुसार राजनीतिक दलहरूले आगामी पुस १३ र १४ गते अपराह्न ४ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । बन्दसूची पेस गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, नियमावली २०७४ र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०८२ ले तोकेका सबै मापदण्ड, प्रक्रिया र आवश्यक कागजातहरू पूरा गर्नुपर्ने आयोगले प्रस्ट पारेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले तोकिएको विधि र प्रमाणसहितको कागजात पूरा गरी समयभित्रै सूची पेस गर्नुपर्नेछ ।”

साथै, दलहरूले आफ्नो उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुअघि वा पेस गरिसकेपछि सर्वसाधारणका लागि सार्वजनिक गर्न सक्ने पनि आयोगले जनाएको छ । निर्वाचनको तयारी तीव्र पारिरहेको आयोगले दलहरूलाई समयमै कानुनी प्रक्रिया पूरा गरी सहयोग गर्न समेत आह्वान गरेको छ ।