सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा आठ प्रतियोगिता, कुल पुरस्कार राशी ८० लाख १० हजार

काठमाडौं, पुस १२ ।‌ नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपिजिए) द्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२५-२६ को नयाँ सिजन सुरु हुँदैछ। यो सिजन पनि कुल आठ प्रतियोगिता हुनेछन्।‌
आठ प्रतियोगिताका लागि कुल नगद पुरस्कार राशी ८० लाख १० हजार रहने एनपिजिएका महासचिव दीपक आचार्यले जानकारी दिए। गत सिजनमा कुल नगद पुरस्कार राशी ६७ लाख ३२ हजार रहेको थियो। यो सिजनमा कूल १२ लाख ७८ हजार बृध्दि भएको छ।
नयाँ सिजनको सुरूवात सूर्य नेपाल सेन्ट्रल ओपनबाट हुनेछ। सेन्ट्रल ओपन यही सोमबारदेखि गोकर्ण गल्फ क्लबमा हुनेछ। चार दिने प्रतियोगितामा  नेपालका शीर्ष व्यावसायिक तथा एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गर्नेछन्। ७२ होलको प्रतिस्पर्धामा दोस्रो दिन अर्थात् ३६ होलको खेलपछि कट हुनेछ। ३६ होलको समाप्तीमा शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडीले कट बनाउनेछन्। उनीहरुबीच अन्तिम दुई दिन उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।‌
यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ।  उपविजेताले १ लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन्।
यो सिजनका नम्बर एक गल्फर निरज तामाङ, डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर राहुल विश्वकर्मा तथा अनुभवी  भुवन नगरकोटी, तोरण विक्रम शाही,, दिनेश प्रजापति, सञ्जय लामा र रबी खड्का प्रमुख दावेदारका रूपमा रहनेछन्।
सन २००८-०९ मा सुरु भएको सूर्य नेपाल गल्फ टुरको यो १९औं‌ संस्करण हो। एनपिजिएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले नयाँ सिजनअघि उत्साह व्यक्त गर्दै भने, “सूर्य नेपाल गल्फ टुरले आफ्नो १९औँ वर्षमा प्रवेश गरेको छ र यसले नेपालको  गल्फको विकासमा उल्लेखनीय भूमिका खेलेको छ। यो टुरले व्यावसायिक तथा एमेच्योर खेलाडीहरूलाई प्रेरित गर्दै नयाँ प्रतिभालाई अगाडि बढ्ने अवसर प्रदान गरिरहेको छ। सूर्य नेपाल प्रा. लि. को निरन्तर सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं।”
सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत आठ प्रतियोगिता विभिन्न पाँच गल्फ कोर्समा सञ्चालन हुनेछन्। जसको खेल तालिका र पुरस्कार राशी यस प्रकार रहेको छ।
पहिलो प्रतियोगिता
सूर्य नेपाल सेन्ट्रल ओपन सिजनको पहिलो प्रतियोगिता हो। यो प्रतियोगिता २०२५ को डिसेम्बर २९ देखि  जनवरी १ सम्म  गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। यो प्रतियोगिताको कुल नगद पुरस्कार राशी १० लाख ५० हजार रहनेछ।
दोस्रो प्रतियोगिता
सिजनको दोस्रो प्रतियोगीता सूर्य नेपाल इस्टर्न ओपन धरानको धरान गल्फ क्लबमा सन् २०२६ को जनवरी १४ देखि १७  सम्म हुनेछ। यो प्रतियोगिताको कुल नगद पुरस्कार राशी १० लाख ५० हजार रहनेछ।
तेस्रो प्रतियोगिता
सिजनको तेस्रो प्रतियोगिता  सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप नवनिर्मित आर्मी गल्फ कोर्स, बर्दिबासमा हुने भएको छ। यो कोर्समा टुरको कुनै पनि प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो। यो प्रतियोगिताको कुल नगद पुरस्कार राशी १० लाख ५० हजार रहनेछ। प्रतियोगिता जनवरी २७ देखि २९ सम्म हुने तय भएको छ।
चौथो प्रतियोगिता
सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन
रोयल नेपाल गल्फ क्लबमा फेब्रुअरी १० देखि १३ सम्म हुनेछ। यो प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ७५ हजार रहेको छ।
पाँचौ प्रतियोगिता
सिजनको पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखराको हिमालयन गल्फ क्लबमा हुनेछ। मार्चको ४ देखि ७ सम्म हुने यो प्रतियोगिताको कुल नगद पुरस्कार राशी १० लाख ५० हजार रहनेछ।
छैटौं प्रतियोगिता
सिजनको छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा हुनेछ। नक आउटको आधारमा हुने यो प्रतियोगिता अन्य सात प्रतियोगिता भन्दा फरक हुनेछ। जहाँ अर्डर अफ मेरिटको उत्कृष्ट १६ खेलाडीले मात्र यो प्रतियोगिता खेल्न पाउनेछन्। कुल नगद पुरस्कार ४ लाख २५ हजार रहनेछ। प्रतियोगिता अप्रिल ७ देखि ९ सम्म हुनेछ।
सातौं प्रतियोगिता
सिजनको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लबमा हुनेछ। मे ५ देखि ८ सम्म हुने प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहनेछ।
आठौं प्रतियोगिता
सिजनको अन्तिम तथा आठौं प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जुन २ देखि ६ सम्म हुने तालिका रहेको छ। यो सिजनको सर्वाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिता हो। जसको कुल पुरस्कार राशी १८ लाख रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *