शेयर बजारमा ‘रौनक’ : नेप्से झण्डै ४८ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

काठमाडौँ, १३ पुस । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार (नेप्से) मा उल्लेख्य सुधार देखिएको छ। परिसूचक उच्च अंकले बढ्नुका साथै कारोबार रकममा समेत निकै उत्साहजनक वृद्धि भएको छ।

नेप्से परिसूचक आइतबार ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेर बन्द भएको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ८.२५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले सकारात्मक रहेका छन्।

परिसूचकसँगै आइतबार कारोबार रकममा पनि निकै ठूलो सुधार देखिएको छ। गत बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज त्यो रकम बढेर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ पुगेको छ। दिनभरिमा ३२८ कम्पनीका १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर कुल ८९ हजार २५१ पटक खरिद-बिक्री भएका छन्।

आजको बजारमा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्, जसको शेयरमूल्य ९.४९ प्रतिशतले बढेको छ। त्यस्तै, जोशी हाइड्रोपावरको मूल्य करिब ७ प्रतिशत र अप्पर साङ्गे हाइड्रोपावरको साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अर्कोतर्फ, विन नेपाल लघुवित्तको शेयरमूल्यमा भने १० प्रतिशतको गिरावट आइ नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर २७ करोड ६० लाख रुपैयाँसहित अग्रस्थानमा रह्यो। यस्तै, मञ्जुश्री फाइनान्सको २४ करोड ५० लाख र सिनर्जी पावर डेभलपमेन्टको २२ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

आइतबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ। वित्त (फाइनान्स) उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ। विकास बैंक र अन्य उपसमूहमा २ प्रतिशतभन्दा बढीको सुधार देखिँदा बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा र लघुवित्त लगायतका अन्य सबै समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले सकारात्मक रहेका छन्।