२२ वर्षपछि डा. अञ्जान शाक्यको सुमधुर पुनरागमन
काठमाडौँ, १३ पुस । राजनीति, कूटनीति र गायनमा दख्खल राख्ने बहुमुखी प्रतिभाकी धनी डा. अञ्जान शाक्य लामो अन्तरालपछि पुनः साङ्गीतिक क्षेत्रमा छाउनुभएको छ। राष्ट्रियसभा सदस्य एवं इजरायलका लागि पूर्वराजदूत डा. शाक्यको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘मेरो गीतभित्र’ बजारमा आएको हो ।
करिब २२ वर्षको लामो साङ्गीतिक विश्रामपछि डा. शाक्यले आफ्ना प्रशंसकहरूका लागि यो नयाँ कोसेली पस्कनुभएको हो । यसअघि ‘शिरीष’, ‘रोज’, ‘बहार’ र ‘अन्जान पथ’ जस्ता चर्चित एकल एल्बममार्फत स्रोताको मन जितिसक्नुभएकी उहाँको यो पुनरागमनलाई विशेष चासोका साथ हेरिएको छ ।
सार्वजनिक गीतमा नेपाली चलचित्र क्षेत्रका सदावहार अभिनेता सरोज खनाल र पूर्वमिस नेपाल उषा खड्गीको जीवन्त अभिनय देख्न सकिन्छ। यी दुई चर्चित कलाकारको ‘केमेस्ट्री’ले भिडियोलाई थप आकर्षक र भावनात्मक बनाएको छ।
इञ्जिनीयर सञ्जय शाक्यको मर्मस्पर्शी शब्द रचना रहेको यस गीतमा डा. शाक्य स्वयं र सञ्जय शाक्यको सङ्गीत रहेको छ। वरिष्ठ सङ्गीतकार हरिशरण सायमीले गीतलाई ‘म्युजिक एरेन्ज’ गर्नुभएको हो भने भिडियोको निर्देशन अनुभवी निर्देशक देवकुमार श्रेष्ठले गर्नुभएको छ।
शनिबार मात्रै युट्युबमा सार्वजनिक गरिएको यो भिडियोले छोटो समयमै दर्शकको राम्रो साथ पाइरहेको छ । कुनै समय नेपाली सुगम सङ्गीतमा एक दर्जनभन्दा बढी कलेक्सन एल्बम र आधा दर्जन एकल एल्बमसहित तहल्का मच्चाउनुभएकी डा. शाक्यको यो नयाँ प्रस्तुतिले नेपाली सङ्गीत प्रेमीहरूलाई पुरानै झल्को दिलाएको छ।