अन्तरपालिका भलिबल सुरु : कुश्मा नगरपालिकाको विजयी सुरुवात
काठमाडौँ, पुस १४ । सदरमुकाम कुश्माबजारमा जारी ‘आठौँ पर्वत महोत्सव’को अवसर पारेर गण्डकी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा उच्च पुरस्कार राशिको यो प्रतियोगिता मुख्य आकर्षणको रूपमा रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कुश्मा नगरपालिकाले बागलुङ नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ। बागलुङलाई सोझो सेटमा पाखा लगाउँदै कुश्मा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । अन्य प्रतिस्पर्धाहरू भोलिदेखि निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २२ हजार २२२ रुपियाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, दोस्रो हुनेलाई १ लाख ११ हजार १११ रुपियाँ, तेस्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीलाई २२ हजार २२२ रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
महोत्सवका खेलकुद संयोजक प्रदीप तिमिल्सिनाका अनुसार खेलहरू ‘बेस्ट अफ फाइभ’ र ‘लिगकम नकआउट’ पद्धतिमा खेलाइनेछ। साथै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विधाका खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
गत बुधबारदेखि सुरु भएको आठौँ पर्वत महोत्सव आगामी पुस १९ गतेसम्म सञ्चालन हुनेछ । खेलकुदमार्फत आन्तरिक पर्यटन र भाइचारा बढाउन यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।