पुराना चलचित्रलाई नयाँ जीवन दिँदै विकास बोर्ड : ‘डिजिटाइजेसन’का लागि आवेदन आह्वान
काठमाडौँ, पुस १६ । नेपाली चलचित्रको इतिहासलाई जीवन्त राख्न र ऐतिहासिक कृतिहरूको संरक्षण गर्न चलचित्र विकास बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा खिचिएका पुराना चलचित्रलाई डिजिटल स्वरूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । बोर्डले आज एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूलाई २१ दिनभित्र ‘डिजिटाइजेसन’का लागि आवेदन दिन आह्वान गरेको छ ।
स्वदेशी चलचित्रको गुणस्तर सुधार गरी दीर्घकालीन रूपमा सुरक्षित राख्ने उद्देश्यले बोर्डले यो योजना ल्याएको हो । यसअघि बोर्डले ‘आमा’, ‘के घर के डेरा’, ‘सिन्दुर’ र ‘कुमारी’ जस्ता ऐतिहासिक चलचित्रलाई डिजिटाइजेसन गरिसकेको छ, जसमा अन्तर्राष्ट्रिय बजारका लागि अङ्ग्रेजी ‘सवटाइटल’ समेत समावेश गरिएको छ ।
बक्स अफिसमा ‘परान’को १७ करोड ६७ लाखको कीर्तिमानी व्यापार : अन्य चलचित्रको अवस्था सामान्य
चलचित्र विकास बोर्डको ‘सिनेपा २ बक्सअफिस’ प्रणालीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार दीपकप्रसाद आचार्य निर्देशित चलचित्र ‘परान’ ले घरेलु बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको छ । प्रदर्शनको ५१औँ दिन पूरा गर्दासम्म यस चलचित्रले १७ करोड ६७ लाख ३६ हजार ८२८ रुपियाँको कुल कारोबार गरेको छ । यस अवधिमा ६ लाख २७ हजार भन्दा बढी टिकट बिक्री भएको बोर्डले जनाएको छ ।
यसैबीच, अन्य नयाँ चलचित्रहरूको व्यापारिक अवस्था भने तुलनात्मक रूपमा सुस्त देखिएको छ । गत मङ्सिर १२ देखि प्रदर्शनमा आएको खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘हर्ष’ ले एक महिनामा २८ लाख ७८ हजार रुपियाँको कारोबार गरेको छ । यस्तै, सुशान्त गौतमको निर्देशनमा बनेको ‘अभिमन्यू: च्याप्टर १’ ले २१ लाख ५० हजार रुपियाँ संकलन गरेको छ ।
नयाँ चलचित्रको व्यापारिक स्थिति:
झरीपछिको इन्द्रेणी: ६२ लाख ६९ हजार ४७५ रुपियाँ (पुस ४ देखि)
पीआर: ६ लाख ७५ हजार ३३ रुपियाँ
लोकन्ती: ४ लाख १२ हजार ५४० रुपियाँ
चिराग: ६८ हजार ४५० रुपियाँ
हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा बनेको र सामाजिक बेथितिविरुद्ध केन्द्रित चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले औषत सुरुवात गरे पनि अपेक्षित उत्साह जगाउन सकेको छैन ।
चलचित्र विकास बोर्डले फिल्म क्षेत्रमा पारदर्शिता कायम गर्न पछिल्लो समय प्रत्येक सोमबार स्वदेशी तथा विदेशी चलचित्रको आधिकारिक व्यापारिक विवरण सार्वजनिक गर्दै आएको छ । यस कदमले निर्माता र प्रदर्शकहरूलाई बजारको वास्तविक अवस्था बुझ्न सहयोग पुगेको चलचित्रकर्मीहरूले बताएका छन् ।