शबाना आजमी र स्वस्तिमा खड्काले साटे अभिनय, प्रेम र जीवनका अनुभव
काठमाडौँ फिल्म फेस्टिभल
काठमाडौँ, कात्तिक १६ । भारतीय अभिनेत्री शबाना आजमी र नेपाली अभिनेत्री स्वस्तिमा खड्काले अभिनय यात्रा, पारिवारिक सम्बन्ध, प्रेम, विवाह, महिला समानता तथा सामाजिक जिम्मेवारीका विषयमा आफ्ना अनुभव साटेका छन् ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको काठमाडौँ फिल्म फेस्टिभलअन्तर्गत शनिबार नेपाल पर्यटन बोर्डको प्रेक्षालयमा आयोजित ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ (फिल्म्स, फेस्टिभल्स एन्ड अ लाइफ वेल लिभ्ड) विषयक प्यानल छलफलमा दुई अभिनेत्रीले व्यक्तिगत तथा पेशागत जीवनका अनुभव साझा गरेका हुन् ।
मौसम प्रतिकूल रहे पनि चलचित्र क्षेत्रका कलाकार, पारखी तथा दर्शकको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा स्वस्तिमाले आजमीसँग उहाँको बाल्यकालदेखि अभिनय यात्रा, पारिवारिक पृष्ठभूमि, प्रेम र वैवाहिक जीवनसम्मका विषयमा संवाद गर्नुभएको थियो । फरक देश र पुस्ताका दुई अभिनेत्रीबीच भएको छलफलमा कलाप्रतिको प्रतिबद्धता, सामाजिक चेतना, महिला समानता र व्यक्तिगत सम्बन्धका विविध आयाम समेटिएका थिए ।
रङ्गमञ्चको वातावरणमा बित्यो बाल्यकाल
आफ्नो अभिनय यात्राबारे स्वस्तिमाको जिज्ञासामा आजमीले बाल्यकालदेखि नै रङ्गमञ्चसँग जोडिएको पारिवारिक वातावरण सम्झनुभयो । उहाँकी आमा शौकत कैफी चर्चित रङ्गमञ्च अभिनेत्री हुनुहुन्थ्यो । आमाले आफूलाई छ महिनाको उमेरदेखि नै रिहर्सलमा लैजाने गरेको उहाँले बताउनुभयो ।
कलात्मक वातावरणमा हुर्किए पनि बाल्यकाल आर्थिक अभाव र सीमित स्रोतसाधनबीच बितेको उहाँको अनुभव छ । सानो कोठामा आठ जना परिवारका सदस्य बस्नुपर्ने र घरमा एउटै शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै उहाँले परिवारको आर्थिक अवस्थाबारे पनि खुलाउनुभयो ।
‘मेरा बुबाले आफूले कमाएको सबै पैसा कम्युनिस्ट पार्टीलाई दिनुहुन्थ्यो । घर चलाउन हाम्रो परिवारले जम्मा ४० भारतीय रुपैयाँ पाउँथ्यो’, उहाँले भन्नुभयो ।
अभाव र कठिन परिस्थितिले आफूभित्र कल्पनाशीलता तथा सिर्जनात्मकताको विकास गर्न सहयोग पुर्याएको उहाँको भनाइ थियो ।
अभिनयलाई नै पेशा बनाउने निर्णय गर्दा परिवारको साथ कस्तो थियो भन्ने प्रश्नमा उहाँले कवि पिता कैफी आजमीबाट प्राप्त प्रेरणा स्मरण गर्नुभयो । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा अध्ययन गर्ने निर्णय सुनाउँदा बुबाले दिएको जवाफले आफ्नो जीवनलाई दिशा दिएको उहाँले बताउनुभयो ।
‘तिमीले जुनसुकै बाटो रोजे पनि म तिम्रो साथमा हुनेछु । भोलि जुत्ता सिलाउने मोची बन्ने इच्छा गरे पनि साथ दिन्छु । तर, त्यो पेशामा तिमी सबैभन्दा उत्कृष्ट हुनुपर्छ’, बुबाको भनाइ उद्धृत गर्दै उहाँले सुनाउनुभयो ।
पेशाको ठूलो वा सानोभन्दा पनि आफूले रोजेको काममा उत्कृष्ट बन्ने प्रतिबद्धता महत्वपूर्ण हुने जीवनदृष्टि बुबाबाट प्राप्त गरेको उहाँको भनाइ थियो ।
समानता र सामाजिक चेतनाले निर्देशित अभिनय
स्वस्तिमाले आजमीको परिवारमा रहेको राजनीतिक चेतना, साहित्यिक वातावरण र लैङ्गिक समानताको सोचले उहाँको अभिनय यात्रामा पारेको प्रभावबारे जिज्ञासा राख्नुभएको थियो ।
जवाफमा आजमीले आफ्ना बुबाले करिब ७५ वर्षअघि लेखेको कविताको प्रसङ्ग उल्लेख गर्दै महिलाले पुरुषको पछाडि होइन, उनीहरूसँगै काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने विचार आफूले परिवारबाटै सिकेको बताउनुभयो ।
‘म हुर्कँदा समानता जीवनको स्वाभाविक नियम हो भन्ने लाग्थ्यो । तर, १९ वर्षको उमेरमा पुगेपछि समाजमा समानता स्वाभाविक अवस्था नभई अपवाद रहेछ भन्ने महसुस गरेँ’, उहाँले भन्नुभयो ।
पारिवारिक प्रगतिशील सोच र सामाजिक चेतनाले आफूलाई कलाकारका रूपमा मात्र नभई नागरिकका रूपमा पनि आकार दिएको उहाँको अनुभव थियो । त्यसैले चलचित्रमा अभिनय गर्नुअघि मनोरञ्जनसँगै सामाजिक प्रश्न र मानवीय संवेदनाका विषय समेटिएका छन् वा छैनन् भन्ने कुरालाई पनि आफूले महत्व दिने गरेको उहाँले बताउनुभयो ।
कलाकारको जिम्मेवारी मनोरञ्जनमा मात्र सीमित नहुने उल्लेख गर्दै उहाँले शोषण, दमन र मानव अधिकारका विषयमा कलाकार मौन रहन नसक्ने धारणा राख्नुभयो । कलाकारको कामले जीवनको अर्थ र सामाजिक उत्तरदायित्वबोध गराउने उहाँको भनाइ थियो ।
व्यावसायिक र कलात्मक दुवै चलचित्रमा उत्तिकै प्रतिबद्धता
छलफलमा आजमी र स्वस्तिमाको अभिनय यात्राका केही समान पक्षसमेत उजागर भए । श्याम बेनेगल निर्देशित चलचित्र ‘अंकुर’ बाट अभिनय यात्रा सुरु गर्नुभएकी आजमीले व्यावसायिक र कलात्मक दुवै धारका चलचित्रमा आफ्नो प्रभाव स्थापित गर्नुभएको छ । स्वस्तिमाले पनि व्यावसायिक चलचित्रबाट अभिनय यात्रा सुरु गरेपछि ‘बुलबुल’ मार्फत आफ्नो पेशागत जीवनमा नयाँ मोड पाउनुभएको थियो ।
महिला पात्रका फरक आयाम र सशक्त भूमिकालाई दुवै अभिनेत्रीले आफ्नो अभिनय यात्रामा प्राथमिकता दिँदै आउनुभएको छ ।
सन् १९७४ मा प्रदर्शन भएको ‘अंकुर’ मा गरेको अभिनयबाट राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गर्नुभएकी आजमीले त्यसपछि ‘अर्थ’, ‘मासुम’, ‘पार’ र दीपा मेहताको ‘फायर’ लगायत चलचित्रमा प्रभावशाली अभिनय गर्नुभएको छ । ‘अमर अकबर एन्थोनी’, ‘परवरिश’ र ‘अवतार’ जस्ता लोकप्रिय चलचित्रमा समेत उहाँका भूमिका दर्शकमाझ चर्चित छन् ।
कलात्मक चलचित्रमा काम गर्ने कलाकार व्यावसायिक चलचित्रमा सफल हुन सक्दैनन् भन्ने धारणा आफूले पटकपटक सुन्नुपरेको उहाँले बताउनुभयो । तर, चलचित्रको विधाभन्दा त्यसको कथा र प्रस्तुतिमा आफूले बढी महत्व दिने गरेको उहाँको भनाइ थियो ।
‘एउटा कलाकारका लागि माध्यमभन्दा पनि कथा र त्यो कथा कति इमानदारीका साथ प्रस्तुत गरिएको छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ’, उहाँले भन्नुभयो ।
व्यावसायिक र कलात्मक चलचित्रमा काम गर्दाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘व्यावसायिक चलचित्रले मलाई आर्थिक रूपमा सुरक्षित बनाएको छ भने कलात्मक चलचित्रले आत्मिक सन्तुष्टि दिलाएको छ ।’
मित्रता र सम्मानमा टिकेको वैवाहिक सम्बन्ध
छलफल अभिनयबाट व्यक्तिगत सम्बन्धतर्फ मोडिँदा स्वस्तिमाले आजमीसँग गीतकार, पटकथा लेखक तथा कवि जावेद अख्तरसँगको वैवाहिक सम्बन्धबारे जिज्ञासा राख्नुभयो ।
फरक स्वभाव भएका दुई व्यक्तिबीच सम्बन्ध कसरी सन्तुलित हुन्छ भन्ने प्रश्नमा आजमीले मित्रतालाई सम्बन्धको सबैभन्दा बलियो आधारका रूपमा प्रस्तुत गर्नुभयो ।
‘सम्बन्धको सबैभन्दा बलियो आधार मित्रता हो । जावेद मसँग सबैभन्दा धेरै मिल्ने साथी हुनुहुन्छ । म पनि उहाँसँग सबैभन्दा धेरै मिल्छु । यसैले हाम्रो सम्बन्ध सन्तुलित बनाएको छ’, उहाँले भन्नुभयो ।
आफूलाई न्यूनतमवादी र अख्तरलाई अधिकतमवादी स्वभावको व्यक्तिका रूपमा चित्रण गर्दै उहाँले एकअर्काको व्यक्तित्व र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउनुभयो ।
सम्बन्धमा उत्पन्न हुने विवाद समाधानका लागि आफूहरूले अपनाउने सरल उपायसमेत उहाँले सुनाउनुभयो । ‘कहिलेकाहीँ सामान्य बहस विवादमा परिणत हुन लाग्यो भने हामी एउटा सरल वाक्य प्रयोग गर्छौँ, त्यो हो– यसलाई छोडौँ । दुवै शान्त भएपछि फेरि त्यही विषयमा फर्किएर छलफल गर्छौँ’, उहाँले भन्नुभयो ।
प्रेममा एकअर्काका कमजोरी र सबल पक्षलाई स्वीकार गर्न सक्नु नै सम्बन्धको महत्वपूर्ण पक्ष भएको उहाँको अनुभव थियो ।
आजमीको अनुभव सुनेपछि स्वस्तिमाले पनि चलचित्र निर्देशक निश्चल बस्नेतसँगको वैवाहिक जीवनका अनुभव सुनाउनुभयो । स्वभाव र बानी फरक भए पनि जीवनका आधारभूत मूल्य, मान्यता र सोचमा समानता रहेकाले सम्बन्ध बलियो बनेको उहाँले बताउनुभयो ।
‘हाम्रा बानी र व्यक्तित्व फरक छन् । उहाँ अन्तर्मुखी हुनुहुन्छ भने म बहिर्मुखी छु । तर, हाम्रा आधारभूत मूल्य मान्यता र सोच धेरै हदसम्म समान छन् । जीवनप्रतिको दृष्टिकोण र इमानदारीको भावनाले हाम्रो सम्बन्धलाई बलियो बनाएको छ’, उहाँले भन्नुभयो ।
दुवै अभिनेत्रीका अनुभवले वैवाहिक सम्बन्ध टिकाउन समान स्वभाव र रुचिभन्दा आपसी सम्मान, विश्वास, व्यक्तिगत स्वतन्त्रता र साझा मूल्य मान्यता महत्वपूर्ण हुने सन्देश दिएको थियो ।
पितृसत्ताविरुद्ध पर्दामा र समाजमा आवाज
छलफलको अर्को महत्वपूर्ण पक्ष महिलाको भूमिका र पितृसत्तात्मक सामाजिक संरचनाविरुद्धको संघर्ष थियो । स्वस्तिमाले चलचित्रको पर्दामा र वास्तविक जीवनमा महिलाले पितृसत्ताको सामना कसरी गर्न सक्छन् भन्ने प्रश्न राख्नुभएको थियो ।
जवाफमा आजमीले विगत र वर्तमानका चलचित्रमा महिला पात्रको प्रस्तुतिमा आएको परिवर्तनबारे चर्चा गर्नुभयो । विगतमा मूलधारका चलचित्रमा महिलालाई कमजोर, पुरुषको छायाँमा रहने वा पुरुष पात्रको कथा अघि बढाउने सहायक भूमिकामा सीमित गरिने गरेको उहाँको भनाइ थियो ।
अहिले भने महिला पात्रलाई मुख्य भूमिकामा राख्ने र उनीहरूकै दृष्टिकोणबाट कथा भन्ने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।
‘परिवर्तनका लागि भइरहेको यो संघर्षमा कलाकारको महत्वपूर्ण भूमिका हुन्छ । समाजलाई आफ्नै व्यवहार र सोचमाथि प्रश्न गर्न बाध्य पार्ने कथाहरू हामीले भन्नुपर्छ’, उहाँले भन्नुभयो ।
सशक्त महिला पात्र र अर्थपूर्ण भूमिका सिर्जना गर्ने निर्देशकहरूको प्रशंसा गर्दै उहाँले युवा महिला कलाकारलाई आफ्नो कामप्रति इमानदार रहन र आवश्यक पर्दा निर्भीक भएर आवाज उठाउन आग्रह गर्नुभयो ।
चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सोच र व्यवहार परिवर्तनमा योगदान पुर्याउन सक्ने प्रभावकारी माध्यम भएको उहाँको धारणा थियो । पर्दामा प्रस्तुत हुने महिला पात्र र कथाले समाजमा महिलाप्रतिको दृष्टिकोण निर्माण गर्नसमेत भूमिका खेल्ने उहाँले बताउनुभयो ।
दर्शकको मायाले भावुक बनायो
कार्यक्रमको अन्त्यतिर दर्शकसँग प्रश्नोत्तरका लागि समय छुट्याइएको थियो । त्यस क्रममा एक सहभागीले आफू शबाना आजमीका चलचित्र हेर्दै हुर्किएको र आज उहाँलाई आफ्नै अगाडि देख्दा विश्वास गर्न कठिन भइरहेको बताउनुभयो ।
दर्शकको उक्त अभिव्यक्तिले आजमी भावुक बन्नुभयो । लामो अभिनय यात्रामा प्राप्त दर्शकको माया र सम्मानप्रति उहाँले आत्मीयतापूर्वक आभार व्यक्त गर्नुभयो ।
स्वस्तिमाका प्रश्न र आजमीका अनुभवले कलाकारको सफलता पुरस्कार र लोकप्रियतामा मात्र सीमित नहुने सन्देश दिएको थियो । आफूले रोजेको कामप्रतिको इमानदारी, समाजप्रतिको जिम्मेवारी, सम्बन्धमा आपसी सम्मान र समानताप्रतिको प्रतिबद्धताले पनि कलाकारको व्यक्तित्व निर्माण गर्ने उहाँहरूको संवादको निष्कर्ष थियो ।
कात्तिक १३ गते सुरु भएको काठमाडौँ फिल्म फेस्टिभल कात्तिक १५ गते सम्पन्न भएको हो । फेस्टिभलअन्तर्गत आयोजित उक्त संवाद दुई पुस्ताका अभिनेत्रीबीचको अनुभव आदानप्रदानमा मात्र सीमित नभई कला, व्यक्तिगत जीवन, सामाजिक उत्तरदायित्व र परिवर्तनका विषयमा अर्थपूर्ण विमर्शका रूपमा रहेको थियो ।
