रास्वपाको बन्दसूचीमा नेताहरूको ‘विद्रोह’: डा. तोसिमाले भनिन्– ‘प्राइमेरीको धज्जी उडाइयो’
काठमाडौँ, १६ पुस । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र तीव्र असन्तुष्टि र विवाद चुलिएको छ ।
पार्टीले गर्वका साथ प्रचार गरेको ‘प्राइमेरी इलेक्सन’ को परिणामलाई बेवास्ता गर्दै नेतृत्वले मनोमानी ढंगले नाम राखेको भन्दै नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका हुन् ।
पार्टी केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. तोसिमा कार्कीले नेतृत्वको कदमप्रति कडा आपत्ति जनाउँदै बन्दसूचीले प्राइमेरी इलेक्सनको धज्जी उडाएको टिप्पणी गरेकी छन् । उनले सचिवालय सदस्य र पदाधिकारीहरू नै समानुपातिकको सुरक्षित घेरामा बस्न खोज्नुले प्रणालीकै औचित्यमाथि प्रश्न उठाएको बताएकी छन् ।
डा. तोसिमाले सामाजिक सञ्जालमा लेख्दै पार्टी नेतृत्व र पदाधिकारीहरूलाई प्रत्यक्ष निर्वाचन लड्ने आँट गर्न चुनौती दिएकी छन् । “पार्टीको माथिल्लो ओहोदामा बस्नेहरू नै समानुपातिकको आकांक्षी बन्नु र त्यहाँ आफ्नो नाम सुरक्षित गर्नु पुरानै दलको प्रवृत्ति हो,” उनले भनेकी छन्, “पदाधिकारी र सचिवालयका सदस्यहरूले तत्काल नाम फिर्ता लिएर प्रत्यक्षमा लड्नुपर्छ ।”
उनले प्राइमेरी भोटिङ र मूल्यांकनमा पदमा बसेकाहरूले प्रभाव पार्न सक्ने भन्दै निर्वाचनबाट नआएका पदाधिकारीहरू नै अग्रपंक्तिमा देखिनु लोकतान्त्रिक नभएको तर्क गरेकी छन् ।