कालीगण्डकी र राहुघाटको दोभानमा रहेको गायत्री मन्दिर जोगाउन तटबन्ध सुरु, २ करोडको लागतमा पर्खाल बन्दै
म्याग्दी, १६ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित धार्मिक तथा पर्यटकीय स्थल गायत्री मन्दिरलाई नदी कटानबाट जोगाउन संरक्षणको काम सुरु भएको छ । कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको यो क्षेत्र बाढी र कटानको उच्च जोखिममा परेपछि सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, पोखराले नियन्त्रणका लागि काम थालेको हो ।
आयोजनाका अनुसार राहुघाट नदीको बाढी रोक्न ५३ मिटर लामो ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्न लागिएको छ । यस प्रविधिअनुसार नदीको सतहभन्दा २ मिटर तलसम्म जग खनेर ४ मिटर चौडाइको आरसिसी (RCC) ढलान गरिनेछ भने माथिल्लो भागमा ग्यावियन जाली भरिनेछ ।
आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार आगामी २०८३ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस योजनाका लागि २०८२ भदौ ४ गते निर्माण कम्पनीसँग १ करोड ४२ लाख ५३ हजार ६४६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हाल निर्माण कम्पनीले नदीको बहावलाई डाइभर्सन (बाटो परिवर्तन) गरेर जग खन्ने काम सुरु गरिसकेको छ ।
गायत्री मन्दिर क्षेत्रलाई मुक्तिनाथको प्रवेशद्वारका रूपमा चिनिन्छ । यहाँ साधु–सन्तहरू ध्यान र तपस्या गर्न आउने गर्छन् । मन्दिर परिसरमा उद्यान, धर्मशाला र बसोबासको व्यवस्था रहेकाले यसको धार्मिक र पर्यटकीय महत्त्व ठूलो छ । नदीले कटान गर्दै लगेपछि यी संरचनाहरू जोखिममा परेका थिए ।
सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्रमुख विदुरमान श्रेष्ठका अनुसार यस वर्ष म्याग्दीसहित पर्वत र मुस्ताङका विभिन्न नदी तटीय क्षेत्रमा बस्ती र बजार संरक्षणका ६ वटा योजनाहरू अघि बढाइएका छन् ।
यी सबै योजनाहरूको कुल लागत २० करोड २९ लाख ७६ हजार रुपैयाँ रहेको छ । म्याग्दी र कालीगण्डकी नदीको कटानबाट बेनी बजार लगायतका बस्तीहरूलाई जोगाउन निर्माण व्यवसायीहरूलाई कार्यस्थलमा परिचालन गरिसकिएको कार्यालयले जनाएको छ ।