पुस मसान्तभित्रै कांग्रेसको विशेष अधिवेशन आह्वान हुन्छ, यो विधानतः बाध्यकारी छ : गगन थापा
काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष अधिवेशन यही पुस मसान्तभित्रै आह्वान गर्ने तयारी भइरहेको बताएका छन् । ४९औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै महामन्त्री थापाले पार्टीभित्रको एकता र नयाँ उत्साहका लागि विशेष अधिवेशन अनिवार्य रहेको बताएका हुन् ।
महामन्त्री थापाका अनुसार विशेष अधिवेशन बोलाउनु विधानतः बाध्यकारी मात्र नभई पार्टीभित्रको खस्कँदो आत्मविश्वास र एकतालाई पुनर्जीवित गर्न पनि आवश्यक छ । “कांग्रेसले उत्तरदायित्व बोधका साथ राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ,” थापाले भनेका छन्, “यो आत्मविश्वास हाम्रो आन्तरिक एकता र समन्वयबाट मात्र सम्भव छ ।”
उनले एकता भनेको विचारको निषेध नभई फरक मतहरूलाई सुन्ने र साझा मञ्च प्रदान गर्ने प्रक्रिया भएको स्पष्ट पारेका छन् । उनले थपे, “पुस मसान्तभित्र विशेष अधिवेशन गरेर हामी त्यस्तो मञ्च तयार गर्ने मार्गमा अगाडि बढिरहेका छौँ ।”
आजभन्दा ४९ वर्षअघि बिपी कोइराला र गणेशमान सिंह लगायतका नेताहरू राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै थापाले वर्तमान समयमा पनि कांग्रेसले सोही स्तरको दृढता देखाउनुपर्ने बताए । राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने सुदृढ कांग्रेस बनाउनु नै आजको पुस्ताको ‘युगिन जिम्मेवारी’ रहेको उनको ठहर छ ।
आफ्नो शुभकामना सन्देशमा महामन्त्री थापाले स्वस्थ चुनावी प्रतिस्पर्धा र सामूहिक उत्तरदायित्वमा जोड दिएका छन् । उनले भनेका छन्, “आमजनताको परिवर्तनको आकाङ्क्षा स्वस्थ प्रतिस्पर्धाबाट मुखरित हुनुपर्छ । एकले अर्कोलाई विरोध र निषेध गर्ने होइन, राष्ट्र निर्माणको सामूहिक जिम्मेवारी बोधका साथ अगाडि बढ्न यो दिवसले सबैलाई प्रेरणा मिलोस् ।”
उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न र पार्टीलाई नयाँ उचाइमा पुर्याउन हातेमालो गर्न समेत आह्वान गरेका छन् ।