पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा ऐतिहासिक युद्धस्थल पर्सागढीमा दौड प्रतियोगिता सम्पन्न

काठमाडौँ, पुस २६ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा नेपाली सेनाको श्रीजङ्ग गणले ऐतिहासिक स्थल पर्सागढीमा विभिन्न दौड प्रतियोगिता आयोजना गरेको छ । राष्ट्रपिताको योगदानलाई स्मरण गर्दै आयोजना गरिएको १० किलोमिटर खुला दौडमा श्रीजङ्ग गणका सिपाही लिलाराम वली प्रथम हुनुभएको छ ।

प्रतियोगितामा सोही गणका सिपाहीहरू सर्जन राउत र पुष्प अछामीले क्रमश: द्वितीय र तृतीय स्थान हासिल गर्नुभयो । त्यस्तै, ५ हजार मिटरको छात्र दौडमा नेपाल राष्ट्रिय मावि बर्डेवाका नीरज चौधरी र छात्रातर्फ नेपाल राष्ट्रिय मावि बरुवा छटौलीकी काजल सहनी प्रथम हुनुभयो । विजेताहरूलाई पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक र श्रीजङ्ग गणका गणपति लोकेन्द्र कार्कीले मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

नेपाली सेनाका संस्थापकसमेत रहनुभएका पृथ्वीनारायण शाहको सम्मानमा आयोजित यस कार्यक्रमले ऐतिहासिक युद्धस्थल पर्सागढीको महत्त्वलाई पुन: उजागर गरेको छ । वि.सं. १८७१ मा गोर्खाली फौजले ब्रिटिस इष्ट इण्डिया कम्पनीलाई पराजित गरेको यो स्थल नेपालको वीरताको प्रतीक मानिन्छ ।