‘इन्डियन आइडल’ विजेता, नेपाली भाषी गायक प्रशान्त तामाङको असामयिक निधन
काठमाडौँ, २७ पुस । भारतीय चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ का विजेता, प्रसिद्ध नेपाली भाषी गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा असामयिक निधन भएको छ। उनको आज दिल्लीमा निधन भएको हो।
तामाङका निकट मित्र एवं संगीतकार राजेश घतानीका अनुसार उनको निधनको कारण ‘कार्डियाक अरेस्ट’ (हृदयाघात) रहेको छ। दिल्लीमा रहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनको निधन भएको जानकारी दिइएको छ।
सन् २००७ मा भारतीय टेलिभिजन च्यानल सोनीबाट प्रसारित ‘इन्डियन आइडल’को उपाधि जितेपछि प्रशान्त एकाएक चर्चाको शिखरमा पुगेका थिए। उनलाई जिताउन नेपाल र विश्वभर छरिएर रहेका नेपाली भाषीहरूले ठूलो अभियान नै चलाएका थिए, जसले उनलाई नेपालीहरूबीच भावनात्मक एकताको प्रतीकका रूपमा स्थापित गरेको थियो।
गायनसँगै उनी नेपाली चलचित्र क्षेत्रमा पनि सफल अभिनेताका रूपमा चिनिन्थे। उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘निशानी’ लगायतका सफल चलचित्रहरूमा मुख्य भूमिका निर्वाह गरेका थिए। पछिल्लो समय उनी बलिउडमा पनि सक्रिय हुँदै गएका थिए। जानकारीअनुसार उनी अभिनेता सलमान खानको एक नयाँ चलचित्रमा ‘भिलेन’ (खलनायक) को भूमिकामा अभिनय गरिरहेका थिए।
प्रशान्तका श्रीमती र एक छोरी छन्। उनको निधनको खबर सार्वजनिक भएसँगै विश्वभर रहेका उनका प्रशंसक र साङ्गीतिक क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।