बालेनको तीन वर्षे कार्यकाल असफल, ‘भाइरल’ हुन होइन परिणाम दिन सक्नुपर्छ : महेश बस्नेत

काठमाडौँ, २८ पुस । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहको तीन वर्षे कार्यकाल पूर्ण रूपमा असफल भएको दाबी गर्नुभएको छ । ठुलो सपना र प्रतिबद्धता बाँडेर मेयर बने पनि धेरैजसो वाचा अधुरै रहँदा बालेनको कार्यकाल असफलतामै बितेको नेता बस्नेतको ठहर छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले बालेन शाहको पछिल्लो राजनीतिक अभिव्यक्ति र कार्यशैलीमाथि कडा आलोचनात्मक टिप्पणी गर्नुभएको हो । मेयर शाह ‘निर्माणभन्दा ध्वंस’ मा बढी केन्द्रित भएको र यस्तो छवि बोकेर प्रधानमन्त्री बन्ने दाबी गर्नु ‘राजनीतिक हतारो’ भएको बस्नेतले उल्लेख गर्नुभएको छ ।

एमाले सचिव बस्नेतले सुशासन र विकास केवल लोकप्रियता वा सामाजिक सञ्जालको ‘भाइरलता’ बाट नभई ठोस परिणामबाट मात्र मापन हुने बताउनुभयो । उहाँले लेख्नुभएको छ, “निर्माणभन्दा ध्वंसमा केन्द्रित छविबिच आज प्रधानमन्त्रीको दाबी गर्नु राजनीतिक हतारो हो । सुशासन र विकास लोकप्रियताले होइन, परिणामले मापन हुन्छ ।”

बालेनको राष्ट्रिय सत्ताको दाबीले गम्भीर प्रश्न उठाएको टिप्पणी गर्दै बस्नेतले राजनीतिमा चर्चा पाउनुभन्दा परिणाम दिनु मुख्य कुरा रहेकोमा जोड दिनुभयो । “उनको राष्ट्रिय सत्ता दाबीले एउटा प्रश्न उठाउँछ, राजनीतिमा भाइरल हुन होइन, परिणाम दिन सक्नुपर्छ,” बस्नेतले भन्नुभएको छ ।