नेप्सेमा ५.५४ अङ्कको सामान्य गिरावट, साढे ६ अर्बको कारोबार

काठमाडौँ, २८ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक ५.५४ अङ्कले घटेर २ हजार ६३५ को बिन्दुमा कायम भएको छ ।

परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ । आज ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक बढेको छ भने बाँकी ९ उपसमूहको सूचकमा गिरावट आएको छ । बढ्ने समूहहरूमा उत्पादन तथा प्रशोधन १.०२ प्रतिशत, म्युचुअल फण्ड ०.११ प्रतिशत, होटल तथा पर्यटन ०.१० प्रतिशत र विकास बैंक ०.०२ प्रतिशत रहेका छन् ।

घट्ने समूहहरूमा व्यापार उपसमूह सबैभन्दा बढी १.१६ प्रतिशतले ओरालो लागेको छ । यस्तै लघुवित्त ०.६६ प्रतिशत, वित्त ०.५३ प्रतिशत, लगानी ०.४२ प्रतिशत र बैंकिङ ०.२५ प्रतिशतले घटेको छ । अन्य, निर्जीवन बिमा, जीवन बिमा र जलविद्युत् समूहमा पनि सामान्य गिरावट देखिएको छ ।

बजारमा सामान्य गिरावट आए पनि दुई कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

यता, सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने आज सबैभन्दा बढी गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ४.२४ प्रतिशतले घटेको छ ।