देवघाटमा माघेसङ्क्रान्ति मेला : ३ लाख भक्तजन आउने अनुमान, सुरक्षा र यातायातको यस्तो छ प्रबन्ध

तनहुँ, १ माघ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न देशका विभिन्न भागबाट भक्तजनहरूको ओइरो लाग्न थालेको छ । बुधबार दिउँसो वेणीसङ्गममा विधिपूर्वक लिङ्गो गाडेर मेलाको औपचारिक शुभारम्भ गरिएसँगै रातिदेखि नै भक्तजनहरूको चहलपहल ह्वात्तै बढेको छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष करिब तीन लाख भक्तजनले देवघाटमा स्नान गरी मेला भर्ने अनुमान गरिएको छ । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने र विशेषगरी मकर सङ्क्रान्तिको दिन त्रिशूली र कालीगण्डकीको सङ्गममा डुबुल्की मार्नुको धार्मिक महत्त्व रहेको विश्वास गरिन्छ ।

मेलालाई व्यवस्थित बनाउन यातायातको विशेष कार्यतालिका बनाइएको छ:
प्रवेश र निकास: चितवनतर्फबाट आउने सवारीसाधन रामनगर, ठिमुरा वा दासढुङ्गा भएर प्रवेश गर्नेछन् भने फर्कँदा देवघाट–बागेश्वरी हुँदै आँपटारी निस्कने व्यवस्था मिलाइएको छ । मुग्लिनतर्फबाट आउने सवारीसाधन दासढुङ्गाबाटै आउने–जाने गर्नेछन् ।
पार्किङ: साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको परिसर र ठूला सवारीसाधन (बस, माइक्रो) का लागि चन्द्रलोक स्वर्गद्वार नजिकैको बसपार्कमा पार्किङको व्यवस्था गरिएको छ ।
नवलपुरतर्फ: नवलपुरका भक्तजनहरू हर्दीस्थित कालीगण्डकीको पुल तरेर सिधै देवघाट आउन सक्नेछन् ।

तनहुँतर्फबाट प्रवेश गर्ने पैदल यात्रीका लागि पुलको मुख, हरिहर चोक हुँदै वेणीसङ्गम पुग्ने र फर्कँदा गलेश्वर आश्रम र टाउन चोक हुँदै निस्कने गरी छुट्टाछुट्टै रुट तय गरिएको छ ।
क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीका अनुसार तीर्थयात्रीको सुरक्षाका लागि ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मेला क्षेत्रमा मदिरा, मांस र धुम्रपान–सुर्तीजन्य पदार्थ पूर्ण रूपमा निषेध गरिएको छ ।

नदीमा पानीको बहाव र गहिराइलाई ध्यान दिँदै वेणीसङ्गममा स्नान गर्ने क्षेत्रलाई डोरी लगाएर सुरक्षित पारिएको छ । तोकिएको क्षेत्रभन्दा बाहिर गएर नुहाउनु जोखिमपूर्ण हुने भएकाले सुरक्षा सङ्केतहरू पालना गर्न समितिले भक्तजनहरूलाई विशेष आग्रह गरेको छ ।

चितवन, तनहुँ र नवलपुरका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकाय र भरतपुर महानगरपालिकासँगको समन्वयमा मेलालाई सुरक्षित र व्यवस्थित बनाइएको क्षेत्र विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *