महिला क्रिकेट: विश्वकप ग्लोबल छनोट आजदेखि सुरु, पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौँ, ४ माघ । आईसीसी महिला टी–२० विश्वकपका लागि अन्तिम खुड्किलो मानिने ‘ग्लोबल छनोट’ प्रतियोगिता आज (आइतबार) देखि नेपालमा सुरु हुँदैछ।

नेपालले आयोजना गर्न लागेको यो हालसम्मकै ठूलो आईसीसी प्रतियोगिता हो, जहाँ नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी थाइल्याण्डको सामना गर्दैछ।

काठमाडौँको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी मैदानमा हुने यो प्रतियोगिता बिहान ९ बजेदेखि सुरु हुनेछ।

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा हुन लागेको यो ऐतिहासिक अवसरलाई लिएर टोली निकै उत्साहित र मानसिक रूपमा तयार रहेको बताएकी छन्। “१८ वर्षपछि हामीलाई यस्तो ठूलो अवसर मिलेको छ। यो प्रतियोगिता नेपाली महिला क्रिकेटका लागि टर्निङ प्वाइन्ट हुनेछ,” उनले भनिन्, “ठूला टोलीहरूसँग खेल्दा हाम्रो अनुभव बढ्नेछ र आगामी पुस्ताका लागि नयाँ बाटो खुल्नेछ।”

यस प्रतियोगितामा सहभागी १० टोलीमध्ये शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२६ मा इङ्गल्याण्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। आगामी विश्वकप जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ।

नेपालको समूह र खेल तालिका
नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालले आज थाइल्याण्डसँग खेलेपछि बाँकी खेलहरू यसप्रकार खेल्नेछ:
जनवरी १९ (आज): विरुद्ध थाइल्याण्ड
जनवरी २२: विरुद्ध नेदरल्याण्ड्स
जनवरी २४: विरुद्ध जिम्बाब्वे
जनवरी २६: विरुद्ध स्कटल्याण्ड

यता समूह ‘ए’ मा बङ्गलादेश, आयरल्याण्ड, नामिबिया, पपुआ न्यूगिनी र अमेरिका रहेका छन्।
ग्लोबल छनोटअघि नेपालले केही अभ्यास खेलहरू खेलेको थियो। स्कटल्याण्ड र आयरल्याण्डसँगको वार्म–अप खेलमा पराजित भएको नेपालले अमेरिकासँगको दुई खेलमा भने एक जित र एक हारको नतिजा निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *