वैदेशिक रोजगारी छाडेर जुनार खेतीमा युवाको आकर्षण
काठमाडौँ, माघ ४ । रामेछापका युवाहरू वैदेशिक रोजगारीको कठिन श्रम छाडेर आफ्नै गाउँघरमा व्यावसायिक जुनारखेतीतर्फ आकर्षित हुन थालेका छन् । थोरै लगानी र कम मेहेनतमा राम्रो आम्दानी हुने भएपछि जिल्लाका युवाहरूले जुनारखेतीलाई समृद्धिको मुख्य आधार बनाउन थालेका हुन् ।
रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्केका युवाहरू जुनारखेतीमा बढी सक्रिय देखिएका छन् । नगरपालिकाको वडा नं ६ ओख्रेनीका हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ र वडा नं ७ सुकाजोरका रामकुमार कार्कीलगायतका युवाहरूले विदेशको बसाइ टुङ्ग्याएर व्यावसायिक रूपमा जुनार उत्पादन सुरु गर्नुभएको छ । विदेशमा सिकेको कार्यदक्षता र मेहेनतका कारण उहाँहरूको बगैँचा अन्य किसानको तुलनामा बढी व्यवस्थित र उत्पादनमुखी रहेको भुजेल बताउनुहुन्छ ।
जुनारखेतीको एउटा मुख्य विशेषता ‘इन्टरक्रपिङ’ अर्थात् एउटै जमिनबाट दोहोरो आम्दानी लिन सकिने सुविधा हो। स्थानीय किसान ज्ञानुका कार्कीका अनुसार जुनारको बगैँचाभित्र तोरी, भटमास जस्ता कोसेबालीसँगै बन्दा, काउली, मुला, साग, लसुन र प्याजजस्ता तरकारी लगाएर थप आम्दानी गर्न सकिन्छ। अहिले बगैँचाबाटै प्रतिकिलो ६० देखि ८० रुपियाँसम्ममा जुनार बिक्री भइरहेको छ ।
लामो समय भारत र खाडी मुलुकमा श्रम गरेका युवाहरू अहिले स्वदेशमै सफल उद्यमी बन्न पाउँदा सन्तुष्ट छन्। २५ वर्ष भारतमा चालकको काम गरेका हिमाल तामाङ र ५ वर्ष मलेसियामा पसिना बगाएका रामकुमार कार्कीको अनुभवमा विदेशमा गर्ने मेहेनत स्वदेशमै कृषिमा लगाउने हो भने परिवारका साथ बसेर सम्मानित जीवन बिताउन सकिन्छ। उहाँहरूका अनुसार उपयुक्त व्यवसाय छनोट गर्न सके विदेशको भन्दा राम्रो आम्दानी गाउँमै सम्भव छ।
रामेछापमा जुनारखेतीको क्षेत्र बर्सेनि विस्तार भइरहेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार गत वर्ष ५ सय ४० हेक्टरमा रहेको जुनार तथा सुन्तला खेती यस वर्ष लिखु तामाकोसी गाउँपालिकामा १०० हेक्टर थपिएसँगै कुल ६ सय ४० हेक्टर पुगेको छ। सरकारले रामेछाप, मन्थली र लिखु तामाकोसीका केही वडालाई ‘जुनार जोन’ घोषणा गरी प्राविधिक सहयोग र चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणमा सहयोग गरिरहेको छ ।
उत्पादित जुनारको बजारका लागि कुनै समस्या नरहेको रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ। यहाँको जुनार सिन्धुली, दोलखा र काठमाडौँसम्म आपूर्ति हुने गरेको छ। जुनार समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार स्थानीय तहले युवाहरूलाई कृषिमा प्रोत्साहन गर्न सहुलियत र अनुदानका कार्यक्रम ल्याएमा वैदेशिक रोजगारीमा जाने बाध्यतालाई उल्लेख्य रूपमा कम गर्न सकिन्छ।