प्रतिनिधिसभा निर्वाचनमा होमिँदै राष्ट्रिय सभाका तीन सांसद, पदबाट दिए राजीनामा
काठमाडौँ, ४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न राष्ट्रिय सभाका तीन जना सांसदले पदबाट राजीनामा दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम र नेकपा एमालेकी भगवती न्यौपानेले आज आइतबार पदबाट राजीनामा दिएका हुन्। उनीहरूले सिंहदरबारस्थित राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई भेटेर आ–आफ्नो राजीनामा बुझाएका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान अनुसार उनीहरूले पद त्याग गरेका हुन्। यी तीनै जना सांसदहरूको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदै थियो।