विश्वकप ग्लोबल छनोट: पहिलो खेलमै नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौँ, ४ माघ । घरेलु मैदानमा आजदेखि सुरु भएको आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको उद्घाटन खेलमा आयोजक नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा मात्र २ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो ।

थाइल्यान्डको जितमा प्रारम्भिक ब्याटर नथाकन चन्थमले सानदार अविजित अर्धशतकीय इनिङ खेलिन् । उनले ५७ रनको योगदान दिँदै टोलीलाई जितसम्म पुर्‍याइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले २ विकेट लिए पनि अन्य बलरले विकेट लिन सकेनन् र थाइल्यान्डका ब्याटरलाई दबाबमा राख्न असफल रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २० ओभरमा १२२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाउनु बाहेक अन्य ब्याटरले ठूलो स्कोर खडा गर्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न थाइल्यान्डकी थिपात्चा पुथावङले घातक बलिङ गर्दै ४ विकेट लिइन् । उनको कसिलो बलिङका कारण नेपाली मध्यक्रम र तल्लो क्रमका ब्याटरहरू खुलेर खेल्न सकेनन् ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित मैदान उत्रिएको नेपालका लागि पहिलो खेलको यो हारले दबाब बढाएको छ । समूह चरणका बाँकी खेलहरूमा नेपालले पुनरागमन गर्नुपर्ने चुनौती थपिएको छ ।