राष्ट्रिय सभाको पहिलो बैठक साढे ७ मिनेटमै सकियो: सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित
काठमाडौँ, ४ माघ । ‘जेनजी’ आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थितिबीच आइतबारदेखि सुरु भएको राष्ट्रिय सभाको नयाँ अधिवेशनको पहिलो बैठक साढे सात मिनेट मात्र बसेर सकिएको छ।
सभाध्यक्ष नारायण दाहालको अध्यक्षतामा बसेको बैठकले दुई वटा कार्यसूची मात्र सम्पन्न गरेको हो। बैठकको प्रारम्भमा सभाध्यक्ष दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।
त्यसलगत्तै, बैठकले बहालवाला राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित गर्ने संसदीय अभ्यास र परम्पराअनुसार आजको बैठक छोटो समयमै टुङ्गिएको हो।
राष्ट्रिय सभाको अर्को बैठक आगामी माघ ९ गते बस्ने गरी स्थगित भएको छ। सो बैठकमा सरकारले हालै जारी गरेका विभिन्न अध्यादेशहरू पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।