आइसिसी महिला टी–२० विश्वकप छनोट: थाइल्याण्डलाई नेपालले दियो १२३ रनको लक्ष्य
काठमाडौँ, ४ माघ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा आयोजक नेपालले थाइल्याण्ड सामु जितका लागि १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल तयार पारेको हो।
नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन्। उनले ५६ बलको सामना गर्दै ६ चौका प्रहार गरिन्। मध्यक्रममा सम्झना खड्काले विस्फोटक ब्याटिङ गर्दै मात्र ११ बलमा २६ रन जोडिन। यस्तै, अनुभवी खेलाडी रुविना क्षेत्रीले १० बलमा २ छक्का र १ चौकाको मद्दतले १७ रन बनाउँदा पूजा महतोले १२ रन जोडिन्।
नेपालका अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालले इनिङको अन्तिम बलमा आफ्नो सबै विकेट गुमाएको थियो।
थाइल्याण्डका बलरहरूले कसिलो बलिङ गर्दै नेपाललाई ठूलो स्कोर बनाउनबाट रोके। थाइल्याण्डका लागि थिपात्चा पुथावङले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ३ विकेट लिइन्। त्यस्तै, ओन्निता कामचोम्पुले २ विकेट लिँदा चनिदा सुथ्थरुवाङ, सुलीपोर्न लाओमी र सुनिदा चातुरोङ्ग्रातानाले समान १–१ विकेट हात पारे।
अहिले थाइल्याण्डले १२३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङको तयारी गरिरहेको छ।