‘सडक सुरक्षा सबैको जिम्मेवारी’: सातदिने ट्राफिक सप्ताह समापन

काठमाडौँ, ४ माघ । काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमप्रति नागरिक सचेतना जगाउने उद्देश्यका साथ सञ्चालित ‘ट्राफिक सप्ताह–२०८२’ आज सम्पन्न भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित सातदिने विशेष अभियानको काठमाडौँको ठमेलमा विविध सांस्कृतिक कार्यक्रमसहित समापन गरिएको हो ।

‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ माघ १ गतेदेखि सुरु भएको यो अभियान अन्तर्गत उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

समापन समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षाका लागि प्रहरीभन्दा बढी नागरिक स्वयम् सचेत हुनुपर्नेमा जोड दिए । “प्रहरी चोकचोकमा बसेर मात्रै दुर्घटना कम हुँदैन,” आईजीपी कार्कीले भने, “चालक, यात्रु र पैदलयात्री सबैले ट्राफिक नियमलाई आफ्नो संस्कारका रूपमा पालना गरे मात्रै सडक सुरक्षित हुन्छ ।”

उनले घरमा परिवारले सुरक्षित आगमनको प्रतीक्षा गरिरहेका हुन्छन् भन्ने तथ्यलाई मनन गर्दै सवारी चलाउन चालकहरूलाई आग्रह गरे । साथै, जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी संरचनाको पुनर्निर्माणमा सहयोग गर्नेहरूलाई उनले धन्यवाद समेत व्यक्त गरे ।

ट्राफिक सप्ताहका अवसरमा उपत्यकाभर विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । साताभर सञ्चालित प्रमुख कार्यक्रमहरू यसप्रकार थिए:
सवारी चालक तथा सहचालकहरूका लागि विशेष प्रशिक्षण ।
सडक नाटक र सांस्कृतिक प्रस्तुतिमार्फत सचेतना ।
दुर्घटनामा परेका घाइतेहरूका लागि रक्तदान कार्यक्रम ।
चालकहरूको स्वास्थ्य परीक्षणका लागि निःशुल्क आँखा शिविर ।
विद्यालय तथा सार्वजनिक स्थलहरूमा ट्राफिक नियमसम्बन्धी प्रचारप्रसार ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सात दिनको अभियानले हजारौँ नागरिकलाई प्रत्यक्ष रूपमा सचेत गराएको र यसले दीर्घकालीन रूपमा सडक अनुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

समापन कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले ट्राफिक सचेतना झल्किने गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।