चालु आवमा न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाखको धान खरिद गर्ने
काठमाडौँ, २६ असोज । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। यसका लागि सरकारले ६७ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार धान खरिद प्रक्रिया सुरु भइसकेको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मोटा तथा मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ तोकेको छ।
न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने मन्त्रीको निजी सचिवालयले जनाएको छ।
