नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा सुरु
काठमाडौँ, २६ असोज । नवरात्रको अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा विशेष पूजा सुरु गरिएको छ। विश्व शान्ति र राष्ट्र कल्याणको कामनासहित पशुपतिनाथसहित पशुपति क्षेत्रका महाशक्ति पीठ तथा देवीदेवताका मन्दिरमा नवरात्रभर विशेष पूजा गर्ने व्यवस्था मिलाइएको हो।
पशुपति क्षेत्र विकास कोषका सदस्य केदारमान भण्डारीका अनुसार नवरात्रभर धार्मिक विधिअनुसार विशेष पूजा सञ्चालन गरिनेछ।
पाशुपत क्षेत्रमा गुह्येश्वरी, वत्सलेश्वरी, जयवागीश्वरी, राजराजेश्वरी, बज्रेश्वरी, कोटेश्वरी, झम्केश्वरी, भुवनेश्वरी र मनमानेश्वरी गरी नौ महाशक्ति पीठ रहेका छन्। यी पीठमा यसै वर्षदेखि नवरात्रका अवसरमा विशेष पूजा गर्ने परम्परा सुरु गरिएको हो।
नवरात्रमा शक्तिस्वरूपा देवीको आराधना गरी सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने धार्मिक परम्परा रहेको छ।
