कोटेश्वरमा गोली चलेपछि आयान माझीसहित ३ जना पक्राउ, लुटपाटको गिरोह सार्वजनिक
काठमाडौं, २२ असाेज । कोटेश्वर–जडिबुटी क्षेत्रमा गोली प्रहार गरी पक्राउ गरिएको आयान माझीसहितको लुटपाट गर्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्नुका साथै हातहतियार देखाएर सुनका गरगहना तथा नगद लुटपाट गर्दै आएको थियो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले पक्राउ गर्ने क्रममा प्रहरी टोलीमाथि नै धारिलो हतियार प्रहार भएको जानकारी दिए। त्यसपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको र एक गोली घुँडामुनि प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिएको उनले बताए।
प्रहरीले गिरोहका नाइके २६ वर्षीय आयान माझीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका–५ घर भई हाल काठमाडौंको कलंकी–ढुङ्गेअड्डा बस्ने माझी तथा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई भक्तपुरको ठिमी नगरपालिका–४ बस्ने मनोजकुमार मोक्तान र राकेश थिङ रहेका छन्।
प्रहरीका अनुसार माझीले बहुमूल्य सामान खोस्ने तथा लुटपाट गर्ने क्रममा नक्कली नम्बर प्लेट भएका मोटरसाइकल र हातहतियार प्रयोग गर्ने गरेका थिए।
प्रहरीका अनुसार उक्त समूहले करिब ८–९ महिनाअघि रातको समयमा २–३ वटा मोटरसाइकलमा तीन–तीन जनाका दरले सवार भई सार्वजनिक सडकमा हिँडिरहेका व्यापारीलाई लुटपाट गर्ने गरेका थिए। उनीहरूले व्यापारीका गरगहना तथा नगदसमेत लुट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले आयान माझीको नेतृत्वमा रहेको समूहका १० जनालाई पक्राउ गरी चोरी तथा डाँका मुद्दामा अनुसन्धान गरिरहेको थियो।
प्रहरीका अनुसार यही समूह भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका बैंकका एटीएम बुथ लुटपाटमा समेत संलग्न थियो।
माझी यसअघि पनि डाँकाचोरी तथा लुटपाटसम्बन्धी मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्। प्रहरीका अनुसार उनी २०७७ सालमा डाँकाचोरी मुद्दामा तीन महिना कैद बसेर धरौटीमा छुटेका थिए। पुनः ६ महिना कैदको फैसला भएपछि २०८२ वैशाखमा पक्राउ परेका उनी तीन महिना कैद भुक्तान गरेर छुटेका थिए।
काठमाडौं बाहेक जिल्ला प्रहरी परिसर भक्तपुर र इलाका प्रहरी कार्यालय बनेपा, काभ्रेको अभिलेखअनुसार पनि माझीविरुद्ध डाँकाचोरीसम्बन्धी २७ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ।
