चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय अनलाइन वक्तित्व कला प्रतियोगिताको नतिजा सार्वजनिक, श्रीराम ढुङ्गाना प्रथम
चौतारा, ५ माघ । चौतारा साँगाचोकगढी नगरपालिका भित्रका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘अनलाइन वक्तित्व कला प्रतियोगिता’को नतिजा सार्वजनिक गरिएको छ। आयोजक गाेविन्द कार्कीकाे जन्मदिनको उपलक्ष्यमा सञ्चालित यस सृजनशील प्रतिस्पर्धामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
प्रतियोगितामा श्री दक्षिणकाली माध्यमिक विद्यालय (वडा नम्बर ३, ढुङ्गानाडाँडा) का श्रीराम ढुङ्गाना प्रथम हुन सफल भएका छन्। त्यसैगरी, श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय (वडा नम्बर ५, चौतारा) की समृद्धि खड्का द्वितीय र श्री दक्षिणकाली माध्यमिक विद्यालयकै सन्ध्या ढुङ्गाना तृतीय भएका छन्। श्री सेती देवी माध्यमिक विद्यालय (वडा नम्बर १, स्याउले) की रेणुका तामाङले सान्त्वना स्थान हासिल गरेकी छिन्।
निर्णायक मण्डलले निर्धारण गरेको मापदण्डका आधारमा नतिजा निष्पक्ष र पारदर्शी रूपमा सार्वजनिक गरिएको आयोजकले जनाएका छन्। प्रतियोगितालाई थप प्रभावकारी बनाउन र पुरस्कार राशि वृद्धि गर्न रबिन अधिकारीले विशेष आर्थिक सहयोग पुर्याउनुभएको थियो।
आयोजकले एक सन्देश जारी गर्दै सहभागी सम्पूर्ण विद्यार्थी, विद्यालय परिवार, शिक्षक र अभिभावकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। “यस प्रकारका बौद्धिक प्रतिस्पर्धाले विद्यार्थीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धि गर्नेछ,” सन्देशमा भनिएको छ, “यसको वास्तविक सफलताको मूल्यांकन भविष्यमा यी साना विद्यार्थीहरूको प्रगतिले गर्नेछ भन्ने विश्वास लिएको छु।”
पुरस्कार वितरणको प्रक्रियालाई सहज बनाउन आयोजकले नयाँ व्यवस्था गरेको छ। विद्यार्थीहरूको व्यक्तिगत बैंक खाता नहुने सम्भावनालाई मध्यनजर गर्दै पुरस्कार रकम सम्बन्धित विद्यालयका प्रधानाध्यापकको QR कोडमार्फत पठाइने बताइएको छ। उक्त रकम विद्यालयको प्रार्थना समयमा सबै विद्यार्थीहरूको उपस्थितिमा औपचारिक रूपमा हस्तान्तरण गर्न र सोको तस्बिर वा भिडियो उपलब्ध गराइदिन विद्यालय प्रशासनलाई विनम्र अनुरोध गरिएको छ।
साथै, यसपटक सहभागी हुन नसकेका विद्यालयहरूलाई आगामी दिनमा यस्ता सृजनशील गतिविधिमा आफ्ना विद्यार्थीहरूलाई सहभागी गराउन समेत आयोजकले आग्रह गर्नुभएको छ। विजेता विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रम सम्पन्न भएको छ।