निपाह भाइरसको जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा उच्च सतर्कता

काठमाडौँ,  माघ ८ । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएसँगै नेपाल सरकारले सम्भावित जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त भाइरस नेपाल भित्रिन नदिन निगरानी र परीक्षणको प्रक्रियालाई तीव्र बनाएको हो ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै भारतसँग सीमा जोडिएका प्रमुख नाकाहरूमा यात्रुहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । विशेष गरी पश्चिम बङ्गालसँग नजिक रहेको कोशी प्रदेशका सीमा नाकाहरूमा थप कडाइ गरिएको र अन्य नाकाहरूमा पनि स्वास्थ्य डेस्कलाई सक्रिय पारिएको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता बुढाथोकीले निपाह भाइरसको गम्भीरताप्रति सचेत गराउँदै भन्नुभयो, “समयमै उपचार हुन नसके यसले ज्यान समेत लिन सक्छ ।  तथ्याङ्क अनुसार यो भाइरसको मृत्युदर ३० देखि ३३ प्रतिशतसम्म रहेको पाइएकाले हामीले पूर्वसावधानी अपनाउनु अत्यावश्यक छ ।”

यो भाइरस मुख्यतया सङ्क्रमित चमेरा, सुँगुर र सङ्क्रमित मानिसको प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्दछ । सङ्क्रमणको जोखिम कम गर्न मन्त्रालयले सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरूलाई विशेष निर्देशन दिनुका साथै सर्वसाधारणलाई समेत सजग रहन आग्रह गरेको छ ।