नगरपालिकाले निर्माण गरेको कभर्ड हल खेलकुद विकास समितिलाई हस्तान्तरण गरिँदै

काठमाडौँ, माघ ११ । तनहुँको व्यास नगरपालिका-३ बीपी वनवाटिकामा निर्माण गरिएको कभर्डहलको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने भएको छ । नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले जिल्ला समन्वय समितिसँग आवश्यक समन्वय गरी खेलकुद विकास समितिमार्फत हल सञ्चालन गर्ने निर्णय गरेको हो ।

व्यास नगर ब्याडमिन्टन क्लबको सक्रियतामा निर्माण भएको सो कभर्डहलमा हाल ब्याडमिन्टन प्रतियोगिताहरू सञ्चालन हुँदै आएका छन् । क्लबका अध्यक्ष जीवन गुरुङका अनुसार पछिल्लो समय ब्याडमिन्टन खेलप्रति खेलाडीको आकर्षण बढेकाले व्यवस्थित खेल पूर्वाधारको आवश्यकता महसुस गरी कभर्डहल निर्माण गरिएको हो ।

कुल ९६ लाख ६३ हजार ७४७ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको यस हलका लागि व्यास नगरपालिकाले विभिन्न आर्थिक वर्षमा गरी कुल ८७ लाख ८५ हजार २३४ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । निर्माणमा सात लाख रुपैयाँ नगद सहभागिता र एक लाख ७८ हजार ५२२ रुपियाँ बराबरको श्रमदान परिचालन गरिएको नगर प्रवक्ता सुरेश थापाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गा नगरपालिकालाई हस्तान्तरण गरिएपछि आर्थिक वर्ष २०७७/७८ देखि नै बजेट विनियोजन गरी यसको निर्माण प्रक्रिया अगाडि बढाइएको थियो ।