विश्वकप छनोटः स्कटल्यान्डद्वारा नेपाललाई १४१ रनको लक्ष्य
काठमाडौँ, १२ माघ । आइसिसी महिला टि–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि एक सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ४० रनको योगफल तयार पारेको हो ।
नेपालले बलिङमा उत्कृष्ट सुरुआत गरे पनि ‘फिनिसिङ’ मा चुक्दा विशाल लक्ष्य पाएको हो । ‘पावर प्ले’ मा ३ विकेट लिएर नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । एक समय ७९ रन जोड्दा ६ विकेट गुमाइसकेको स्कटल्यान्डको इनिङ्सलाई तल्लो क्रमका ब्याटरले सम्हालेका थिए ।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक ४५ रनको अविजित इनिङ खेलिन् । त्यस्तै अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ र मेगान मेकलले १७ रनको योगदान दिए ।
बलिङतर्फ नेपालकी मनीषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ४ ओभरमा १५ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिइन् । यस्तै रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान एक–एक विकेट हात पारे ।
प्रतियोगिताको ‘सुपर सिक्स’ मा स्थान बनाउने सम्भावना कायमै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।