विश्वकप छनोटः स्कटल्यान्डसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ, १२ माघ । आइसिसी महिला टि–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग फराकिलो अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

आज भएको निर्णायक खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएपछि नेपालको ‘सुपर सिक्स’ पुग्ने सम्भावना समाप्त भएको हो ।

जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ दशमलव ५ ओभरमा ६८ रनमै समेटियो । नेपालले ९ विकेट गुमाएको अवस्थामा कप्तान इन्दु बर्मा चोटका कारण मैदान बाहिरिएपछि इनिङ समाप्त भएको थियो ।

सातौँ ओभरको चौथो बलमा घाइते हुनुभएकी कप्तान बर्मा पुनः ब्याटिङमा फर्कन सक्नुभएन ।
नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ तथा रुबिना क्षेत्रीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । स्कटल्यान्डकी अब्ताहा मकसुदले ३, कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २–२ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ४० रनको योगफल तयार पारेको थियो ।