नेप्सेमा ४२ अंकको गिरावट, कारोबार १४ अर्बमा खुम्चियो
काठमाडौं, १३ माघ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। अघिल्लो दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार भने १.५ प्रतिशतभन्दा बढीले ओरालो लागेको हो।
मंगलबार नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको छ। यसदिन ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ७.३७ अंकले घटेको छ।
बजार परिसूचकसँगै मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार १६ अर्ब ३५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज रकम घटेर १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३३३ वटा कम्पनीका ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच भए।
उच्च अंकले बजार घट्दा पनि सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। बैंकको शेयरमूल्य ८.५६ प्रतिशतले बढेको छ। त्यस्तै, दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको मूल्य साढे ८ प्रतिशत हाराहारीले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर साढे ६ प्रतिशतले उकालो लागेको छ।
यता, ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य भने सर्वाधिक ६.९३ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भयो। दोस्रो स्थानमा रहेको एसवाई प्यानल नेपालको साढे ५७ करोड र आँखु खोला जलविद्युतको ५१ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेर राताम्मे भएका छन्। यस दिन वित्त (फाइनान्स) उपसमूह सर्वाधिक २.४४ प्रतिशतले घटेको छ।
त्यसैगरी बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन तथा निर्जीवन बीमा, उत्पादन, लघुवित्त र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।