नेप्सेमा दोहोरो अङ्कको गिरावट : बजार घट्दा पनि १४ अर्ब ५६ करोडको कारोबार
काठमाडौँ, १५ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा दोहोरो अङ्कको गिरावट आएको छ । तर, बजार घट्दा पनि कारोबार रकम र जलविद्युत (हाइड्रोपावर) समूहका कम्पनीहरूमा भने लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक १७.५३ अङ्कले घटेर २७१४.०५ विन्दुमा ओर्लिएको छ ।
परिसूचक घटे पनि कारोबार रकममा भने भारी वृद्धि भएको छ । बुधबार ११ अर्ब ४९ करोडको कारोबार भएको बजारमा आज (बिहीबार) १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज ३२० कम्पनीको १ लाख ३८ हजार ८८३ पटकको कारोबारमा ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भयो ।
समग्र बजार राताम्मे हुँदा पनि हाइड्रोपावर सेक्टरमा भने हरियाली छाएको छ । कुल कारोबार रकममध्ये ५८ प्रतिशत हिस्सा (८ अर्ब ७९ करोड रुपैयाँ) जलविद्युत समूहले ओगटेको छ । आज कमाउने कम्पनीहरूको सूचीमा हाइड्रोपावर कम्पनीहरूकै वर्चस्व रह्यो ।
आज हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
कालिका पावर, रावा इनर्जी, शुभम पावर, युनियन हाइड्रो, नेसनल हाइड्रो र युनाइटेड मोदी लगायतका कम्पनीका लगानीकर्ताले राम्रो कमाए । आजको बजारमा विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । यस्तै, एसवाई प्यानल (५२ करोड २९ लाख) र युनाइटेड मोदी (४६ करोड ६४ लाख) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
कारोबारमा आएका १३ उपसमूहमध्ये आज १० वटाको परिसूचक घटेको छ भने ३ वटा मात्र बढेका छन् ।