२६औँ संस्करणको बुढासुब्बा गोल्डकप

बुढासुब्बा गोल्डकप धरानको सान र युवा प्रतिभाका लागि सुनौलो अवसर

काठमाडौँ, माघ १७ । पूर्वाञ्चलकै प्रतिष्ठित फुटबल प्रतियोगिता ‘बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ को २६औँ संस्करण सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा यसको रौनक र चर्चा चुलिएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगिताले खेलकुद प्रवर्द्धनका साथै धरानको आर्थिक, सामाजिक एवं सांस्कृतिक पहिचानलाई विश्वभर उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले धरानलाई ‘खेलकुदको सहर’ का रूपमा स्थापित गर्न बुढासुब्बा गोल्डकपको अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुढासुब्बा गोल्डकप धरानको पर्याय बनेको छ । नेपालका प्रतिष्ठित क्लबहरूसहित अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहने यस प्रतियोगिताले खेल क्षेत्रको विकास, खेलाडीहरूको व्यावसायिक दक्षता वृद्धि र स्थानीय युवा पुस्तालाई खेलकुदप्रति प्रेरित गर्न ठूलो मद्दत पुर्याएको छ ।”

विगतमा टोली सङ्ख्यामा केही फेरबदल भए पनि यस वर्ष १० वटा टिमको सहभागितामा यही माघ २२ गतेदेखि प्रतियोगिताको औपचारिक सुरुवात हुने अध्यक्ष तामाङले जानकारी दिनुभयो । फुटबलप्रेमीहरूको विशेष मागलाई मध्यनजर गर्दै यस पटक सहभागी टोलीको सङ्ख्या बढाइएको उहाँको भनाइ छ ।

कोभिड–१९ को महामारीका कारण दुई वर्ष स्थगित भएको यस प्रतियोगिताले पछिल्ला वर्षहरूमा निरन्तरता पाउँदै आएको छ । यस वर्ष धरान उपमहानगरपालिकाले प्रथम र द्वितीय पुरस्कारको राशि सौजन्य गरेपछि प्रतियोगिता सञ्चालनमा थप सहजता आएको आयोजकले जनाएको छ ।

कुनै समय शौखिन र लाहुरेहरूको सहरका रूपमा चिनिने धरान पछिल्लो समय खेलकुदको केन्द्रका रूपमा विकसित भएको छ । यहाँका सयौँ युवाहरू फुटबललाई नै आफ्नो भविष्यका रूपमा रोज्न थालेका छन् । सोलुखुम्बुका १५ वर्षीय उदीयमान खेलाडी प्रजल भुजेल भन्नुहुन्छ, “सानैदेखि फुटबलमा रुचि थियो, अहिले बुढासुब्बा गोल्डकप जस्तो प्रतिष्ठित प्रतियोगिता खेल्ने र राष्ट्रिय टोलीमा पुग्ने लक्ष्यका साथ धरानको एन्फा एकेडेमीमा अभ्यासरत छु ।”

त्यस्तै, फुटबलमै आफ्नो जीवन समर्पित गर्नुभएका धरान-१५ का सागर घिमिरेले यस प्रतियोगितासँगको आफ्नो भावनात्मक सम्बन्धबारे चर्चा गर्नुभयो । उहाँले बुढासुब्बा गोल्डकपमा मात्रै २३ पटक प्रशिक्षक (कोच) को भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँ आफ्नो व्यावसायिक सफलताको श्रेय यसै प्रतियोगितालाई दिनुहुन्छ । घिमिरेका अनुसार अहिलेका युवाहरू फुटबलमार्फत केवल गोल मात्र गरिरहेका छैनन्, उनीहरूले आफ्नो जीवनको लक्ष्य (गोल) समेत निर्धारण गरिरहेका छन् ।

आयोजक क्लबका महासचिव नवीन राईले बुढासुब्बा गोल्डकपको नाम धरानको ऐतिहासिक तथा धार्मिकस्थल बुढासुब्बा मन्दिरसँग जोडिएकाले यसको छुट्टै सांस्कृतिक गरिमा रहेको उल्लेख गर्नुभयो । उहाँले फुटबलले शारीरिक र मानसिक तन्दुरुस्तीका साथै खेलाडीलाई आर्थिक रूपमा समेत सक्षम बनाउने हुँदा यसप्रति आकर्षण बढेको बताउनुभयो ।

करिब रु. एक करोडको लागतमा सम्पन्न हुने यस प्रतियोगिताका लागि स्थानीय सरकारको सहयोगका अतिरिक्त हङकङ, बेलायत, सिङ्गापुरलगायतका देशमा रहेका नेपालीहरूबाट समेत आर्थिक सहयोग प्राप्त हुने गरेको छ । प्रतियोगिता हेर्न सुनसरीका अतिरिक्त मोरङ, झापा, धनकुटा, इलाम र सङ्खुवासभा लगायतका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा दर्शकहरू धरान आउने गर्दछन्, जसले स्थानीय पर्यटन र व्यापारमा समेत सकारात्मक प्रभाव पार्ने गरेको छ ।