झापा गोल्डकपको सातौँ संस्करणमा १० टोली भिड्दै : विजेतालाई १५ लाख रुपियाँ
काठमाडौँ, माघ १७ । झापाको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘झापा गोल्डकप’ को सातौँ संस्करण आगामी माघ २४ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सुरु हुने भएको छ । फागुन ४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको पुरस्कार राशिमा यस वर्ष उल्लेख्य वृद्धि गरिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजन एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ ले गर्ने भएको छ । शुक्रबार झापा गोल्डकपका अध्यक्ष केदार गिरी र एग्रो थाई फुड्सका कन्ट्री म्यानेजर पवन श्रेष्ठले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यस वर्षको गोल्डकप झापा गोल्डकपका पूर्वअध्यक्ष स्वर्गीय विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको आयोजकले जनाएको छ ।
मलेसिया, भुटान र भारतका क्लब पनि सहभागी हुने
यस संस्करणमा विजेताले प्राप्त गर्ने पुरस्कार राशि बढाइएको छ । प्रतियोगिताको विजेताले नगद १५ लाख रुपियाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख ५० हजार रुपियाँ पाउनेछ । विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’ लाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपियाँ प्राप्त गर्नेछन् भने प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठको टोलीले गरेको छ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० वटा प्रतिष्ठित टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट आयोजक झापा ११ सहित चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन (पोखरा) सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय टोलीका रूपमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) मैदानमा उत्रिनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ भने करिब ५० हजार दर्शकले प्रत्यक्ष खेल अवलोकन गर्ने आयोजकको अपेक्षा छ । गोल्डकपको अवसरमा झापाका एक पुराना फुटबल खेलाडी र रङ्गशालाका लागि जग्गा दान गर्ने डोमालाल राजवंशीको परिवारलाई जनही २५ हजार रुपियाँसहित सम्मान गरिने कार्यक्रम समेत तय भएको छ ।
झापा गोल्डकपले मोफसलको फुटबल विकासमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत झापाको पहिचान उच्च बनाउने विश्वास अध्यक्ष केदार गिरीले व्यक्त गर्नुभएको छ ।