भद्रपुरमा ‘कोशी पाथीभरा इण्डो-नेपाल टी-२० च्याम्पियनसीप’ को तयारी पूरा
काठमाडौँ, माघ १९ । झापाको भद्रपुरमा आयोजना हुन लागेको ‘कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीप’ को सम्पूर्ण तयारी पूरा भएको छ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा भोलि (बुधबार) देखि माघ २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको तयारीका बारेमा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
भद्रपुर नगरपालिका-८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल र भारतका गरी कूल आठवटा टिमको सहभागिता रहनेछ । लिग ढाँचामा खेलाइने यस प्रतियोगिताका लागि मैदान व्यवस्थापन, पिच स्तरीकरण, सुरक्षा प्रबन्ध, अम्पायरिङ तथा खेलाडीको आवास र यातायातको सम्पूर्ण व्यवस्था मिलाइसकिएको प्रतियोगिता संयोजक गौरब सुब्बा (मनोज) ले जानकारी दिनुभयो ।
सहभागी टोलीहरू
प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लबसहित गण्डकी हिरोज (पोखरा), ग्रेट हिमालयन क्रिकेट एकेडेमी (काठमाडौँ) र फ्रेण्ड्स युथ क्लब (डडेल्धुरा) ले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकेडेमी (आसाम), ग्लोबल स्टार क्रिकेट क्लब (लखनउ), क्रिकेट कोचिङ उपाध्याय एकेडेमी (नयाँ दिल्ली) र स्नो लायन टिम (सिक्किम) सहभागी हुने आयोजकले जनाएको छ ।
पुरस्कार राशि र बजेट
आयोजक क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार प्रतियोगिताको कूल बजेट करिब १ करोड २० लाख रुपियाँ रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपियाँ र उपविजेताले ३ लाख रुपियाँ सहित ट्रफी प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ ‘प्लेयर अफ दि सिरिज’लाई ५१ हजार रुपियाँ, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही २५ हजार रुपियाँ, ‘उदीयमान खेलाडी’लाई ११ हजार रुपियाँ र प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ११ हजार रुपियाँ नगद र ट्रफी प्रदान गरिनेछ ।
पूर्वाधार निर्माण
प्रतियोगिताका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय दाताहरूको सहयोगमा करिब रु ६० लाखको लागतमा क्रिकेट पिच निर्माण तथा मैदानको स्तरोन्नति गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले नगरको खेलकुद विकासका लागि यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै पालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।