सकियो वश्वविद्यालय खेलकुदको सम्पूर्ण तयारी
काठमाडौँ, २० माघ । आगामी बिहीबारदेखि धुलिखेलमा सुरु हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा आगामी बिहीबारदेखि दुई दिनसम्म विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलमा हुँदै छ ।
विश्वविद्यालयबाट अध्ययनरत २९ वर्षमुनि विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ । उक्त प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको खेलमैदान हुनेछन् । राखेपले मंगलबार पुतलीसडकमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालीको सहआयोजनामा हुने विश्वविद्यालय खेलकुद प्रतियोगितामा ९ वटा विश्वविद्यालयका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सहआयोजक नेपालय इन्टरनेसनलले उक्त पत्रकार सम्मेलन प्रतियोगिताको प्रायोजक केआइईस एजुकेसन कन्सल्टेन्सीसँग प्रायोजनसम्बन्धि सम्झौता गरेको छ ।
नेपालय इन्टरनेसनलका चेयरमेन सुवास प्रधान र केआइईस एजुकेसन कन्सल्टेन्सीका संस्थापक सिइओ राजेन्द्र रिजालबीच प्रायोजन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सो अवसरमा रिजालले देशले गौरव गर्ने क्षेत्र खेलकुदसँग सहकार्य गर्न पाउँदा धेरै उत्साहित रहेको र केआइईस एजुकेसन कन्सल्टेन्सी लामो समयदेखि नेपाली खेलकुद विकासमा जोडिँदै आएको बताए । नेपालय इन्टरनेसनलका चेयरमेन सुवास प्रधानले नेपाली खेलकुद विकासका लागि विश्वविद्यालय खेलकुद जस्ता प्रतियोगिता महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरेका छन् । यस संस्करणमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, बास्केटबल र छात्र भलिबल गरी पाँच खेल विधा प्रतिस्पर्धा हुनेछन् ।
एथलेटिक्समा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र लङ जम्प गरी चार इभेन्ट्स हुनेछ । ब्याडमिन्टन र टेबल टेनिसमा सिंगल्स र डबल्स तथा बास्केटबलमा थ्री अन थ्री बास्केटबल हुने आयोजक राखेपले जनाएको छ । भलिबलमा छात्रतर्पm मात्र हुने राखेपका प्रतियोगिता प्रमुख मीन शर्माले जानकारी दिए । सबै विश्वविद्यालयमा छात्राको टिम नभएकाले छात्रको मात्र खेल राखिएको उनको भनाइ छ । हरेक विश्वविद्यालयबाट समान ३१ खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । एउटा खेल विधामा एक जना प्रशिक्षक र एक म्यानेजर राख्न पाउने आयोजकले उल्लेख गरेको छ ।
कुनै विश्वविद्यालयमा विदेशी नागरिक अध्ययन गरिरहेको छ भने पनि उनीहरूले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । प्रतियोगितामा टिम र व्यक्तिगततर्पm स्वर्ण विजेताले समान तीन हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । ९ वटा विश्वविद्यालयबाट दुई सय ७० खेलाडीले कुल १९ स्वर्ण, १९ रजत र २७ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । सरकार यस प्रतियोगिताका लागि १८ लाख विनियोजन गरेको अन्य रकम भने प्रायोजनाबाट जुटाउने राखेपका प्रचारप्रसार शाखा प्रमुख खुसराज दाहालले जानकारी दिए । टिम च्याम्पियनले रनिङ शिल्डका साथै ट्रफी पनि प्राप्त गर्ने भएका छन् ।