वीर गणेशमान स्मृति रनिङ शिल्ड खुला तेक्वान्दो हुने

काठमाडौँ, माघ २१ गते । काठमाडौँ महानगरपाल वडा नं २२ को आयोजना र संकटा क्लबको सहआयोजनामा काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी वीर गणेशमान स्मृति रनिङ शिल्ड खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका महान योद्धा वीर गणेशमान सिंहको स्मृतिमा प्रतियोगता हुन लागेको हो । प्रतियोगिता माघ २३ र २४ गते सकटा टेवहाल परिसरमा सञ्चालन हुनेछ । नेपाल तेक्वान्दो संघले प्राविधिक सहयोग प्रदान गर्नेछ । प्रतियोगितामा काठमाडौं महानगरपालिकाका ३२ वडाका खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा कुल ६४० खेलाडी सहभागी हुने अनुमान गरिएको छ । जसमध्ये ३२० पुरुष र ३२० महिला खेलाडी रहनेछन् । प्रत्येक टिमबाट अधिकतम् २० जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा ग्योरोगीतर्फ पुरुष र महिलामा समान आठ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । फाइटमा महिलातर्फ २०–२४ केजी, २४–२८ केजी, २८–३२ केजी, ३२–३६ केजी, ४०–४४ केजी, ४४–४८ केजी र ४८–५२ केजी तौलसमूहमा प्रतिस्पधां हुनेछ । पुरुषतर्फ पनि सोही तौलसमूहमा खेल हुनेछ । यसैगरी, एकल पुम्सेतर्फ पुरुष तथा महिलामा दुई उमेरसमूह १२ वर्षमुनि र १२ वर्षदेखि १६ वर्षसम्म प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल २० स्वर्ण, २० रजत र ४० कास्य पदक प्रदान गरिनेछ ।

स्वर्ण पदक विजेताले तीन हजार रजत पदक विजेताले दुई हजार र कांस्य पदक विजेताले एक हजार नगद पुरस्कारका साथै पदक प्राप्त गर्नेछन् । टिम च्याम्पियनले ट्रफी पनि पाउनेछ ।