टी-२० विश्वकप : इङ्ल्यान्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ, २५ माघ । आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डको सामना गर्दैछ। भारतको मुम्बईस्थित प्रसिद्ध वानखडे स्टेडियममा भइरहेको यस खेलमा इङ्ल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो।

इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले ब्याटिङका लागि अनुकूल पिचको फाइदा उठाउने लक्ष्यका साथ टस जितेर ब्याटिङ रोजेका हुन्। दुई पटकको विश्व विजेता इङ्ल्यान्डविरुद्ध मैदान उत्रँदा नेपालले यसपटकको विश्वकप यात्रामा सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ।

नेपालको यो तेस्रो विश्वकप सहभागिता हो। यसअघि सन् २०१४ मा बंगलादेश र सन् २०२४ मा अमेरिका तथा वेस्ट इण्डिजमा भएको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन। यसपटक नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ इङ्ल्यान्डबाहेक वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड जस्ता टोलीहरू रहेका छन्।

नेपालको प्लेइङमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् । भने इङ्ल्यान्डको प्लेइङमा ह्यारी ब्रुक (कप्तान), फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *