निर्वाचन सुरक्षाका लागि बाँकेमा ७५ थान हतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षाको तयारी
नेपालगञ्ज, २६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँकेमा सुरक्षा व्यवस्था र निर्वाचन तयारीलाई तीव्र पारिएको छ। निर्वाचनलाई भयरहित बनाउन जिल्ला प्रशासन कार्यालयको आग्रहमा हालसम्म ७५ थान इजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरूमा ती हतियार संकलन गरिएको हो। बुझाइएका हतियारहरूमा भरुवा बन्दुक र बाह्रबोर लगायत रहेका छन्। निर्वाचन सुरक्षालाई लक्षित गरी प्रशासनले सर्वसाधारणसँग रहेका इजाजत प्राप्त हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो।
यसैबीच, निर्वाचन आयोगले बाँकेका आठवटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ। निर्वाचनलाई लक्षित गरी जिल्लाका ८१ वटै वडामा ८१ जना स्वयंसेवक परिचालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार मतदाता शिक्षाका लागि प्रत्येक स्थानीय तहमा अधिकृतस्तरका कर्मचारीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको छ। “आयोगबाट कार्यक्रम प्राप्त भइसकेको छ, केही प्राविधिक काम सकिएलगत्तै स्वयंसेवकहरूलाई तालिम दिएर टोल-टोलमा खटाइनेछ,” शाहीले भन्नुभयो।
तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा यसपटक कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्। निर्वाचनका लागि जिल्लाभर १३९ मतदान स्थल र ४०० मतदान केन्द्रहरू तोकिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।