बुढासुब्बा गोल्डकप : आयोजक धरानलाई पराजित गर्दै लालीगुरास सेमिफाइनलमा

काठमाडौँ, माघ २६ ।  सुनसरीको धरानमा जारी २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा पोखराको लालीगुरास फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रङ्गशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै लालीगुरासले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलमा १५ मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा लालीगुरासका तर्फबाट राम थापा, टिकराज गुरुङ, सुदीप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङले गोल गर्न सफल हुनुभयो । आयोजक धरान फुटबल क्लबका विवेक राई, सविन राई, प्रज्ज्वल थापा र नगेन राईले गोल गरे पनि दोर्जे तामाङको प्रहार लालीगुरासका गोलरक्षक कुम्भ देउवाले रोकेका थिए ।

उत्कृष्ट बचाउ गर्नुभएका लालीगुरासका गोलरक्षक कुम्भ देउवा खेलको ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । उहाँले नगद १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताका अध्यक्ष प्रताप तामाङका अनुसार मङ्गलबारको खेलमा झापा-११ र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कुल १० टोलीको सहभागिता रहेको यस प्रतिष्ठित प्रतियोगिताको विजेताले १० लाख रुपियाँ र उपविजेताले ५ लाख रुपियाँ प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’लाई एक थान स्कुटर प्रदान गरिनेछ ।

यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार तथा सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।