साताको अन्तिम दिन सम्हालियो सेयर बजार: नेप्सेमा सामान्य सुधार, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौँ, २९ माघ । साताको सुरुदेखि नै लगातार ओरालो लागेको सेयर बजारमा बिहीबार भने केही सुधार देखिएको छ । गत आइतबारदेखि बुधबारसम्म लगातार चार दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन सामान्य अङ्कले बढेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक ८.९७ अङ्कले वृद्धि भई २६७१.०७ विन्दुमा कायम भएको छ । नेप्से परिसूचकसँगै यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अङ्क, फ्लोट इण्डेक्स ०.८५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अङ्कले बढेका छन् ।

बजार परिसूचकसँगै बिहीबार कारोबार रकममा पनि उत्साहजनक सुधार देखिएको छ । बुधबार ८ अर्ब ६९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा बिहीबार त्यो परिमाण बढेर ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ पुगेको छ । यस दिन ३३७ कम्पनीका २ करोड ७७ लाख ८० हजार कित्ता सेयर १ लाख ६ हजारभन्दा बढी पटकको कारोबारमार्फत किनबेच भएका छन् ।

बिहीबारको बजारमा जलविद्युत उपसमूहका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य २८ रुपैयाँ ५० पैसाले बढेर प्रति कित्ता ३१३ रुपैयाँ ७० पैसा पुगेको छ । यस्तै, रसुवागढी हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशत र खानी खोला हाइड्रोपावरको ७ प्रतिशतले बढेको छ ।

यता कालिञ्चोक दर्शनका लगानीकर्ताले भने यस दिन सबैभन्दा धेरै ७.५९ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो । सो कम्पनीको ७० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । त्यसैगरी, एसवाई प्यानल नेपालको ४३ करोड ५० लाख र रिडी पावरको ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेका छन् । विकास बैंक उपसमूह १.१८ प्रतिशत र जलविद्युत उपसमूह करिब १ प्रतिशतले उकालो लागेका छन् । होटल तथा पर्यटन उपसमूहमा भने यस दिन सर्वाधिक १.६५ प्रतिशतको गिरावट देखिएको छ ।