एसिया कप महिला राइजिङ स्टार्स क्रिकेटको पहिलो दिन नेपाल र भारत पराजित

काठमाडौँ, १ फागुन । एसिया कप महिला राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको पहिलो दिन शुक्रबार नेपाल र भारत ए पराजित भएका छन् ।

थाइल्यान्डको बैंककस्थित टडथाई क्रिकेट मैदानमा भएको खेलमा पहिल नेपाल पाकिस्तान ए सँग ३० रनले हार्यो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १३७ रन बनाएको थियो । कप्तान हाफ्सा खालिदले दुई चौका र एक छक्कासहित अविजित ४० रन बनाइन् ।

नेपालका लागि कविता कुँवर दस रनमा दुई तथा मनिषा उपाध्याय, सीता राना मगर, रुविना क्षेत्री र रिया शर्माले एक–एक विकेट लिए ।
नेपालले जवाफमा छ विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो । विन्दु रावले ४५ बलमा आठ चौकासहित सर्वाधिक ३९ रन बनाइन् । अनोसा नासिरले २० रनमा तीन, मोमिना रियासतले २१ रनमा दुई र वाहिदाले १९ रनमा एक विकेट लिए ।

यसैगरी शुक्रबार भएको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)ले उपाधिको प्रमुख दावेदार भारत ए लाई सात विकेटले पराजित गर्यो ।। कप्तान इशा ओजाले ६१ ब्लमा अविजित ७२ रन बनाएर प्रतियोगितामा स्तब्धकारी नतिजा निकालेको हो । भारतले ए ले पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १३० रन बनाएको थियो । युएइले तीन बल बाँकी छँदै जित हासिल गर्यो ।