मेयर कप राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा : ठगुन्नाको कप्तानीमा १४ खेलाडी छनोट

काठमाडौँ, फागुन २ ।  आगामी ‘पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिता’का लागि सुदूरपश्चिम प्रदेशको आधिकारिक टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले किरनकुमार ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोलीको नामावली सार्वजनिक गरेको हो । सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार घोषित टोलीमा कप्तान ठगुन्नासँगै गजेन्द्र बोहरा, किरन धामी, रोशन साउद, आयुश द्वारिया, लोकेन्द्र चन्द, मिलन बोहरा, आशिष तिरुवा, सौर्य श्रेष्ठ, सुशिल रावल, टेक रावत, कैलाश ऐर, लोकेन्द्र ऐर र दिपक टमटा रहेका छन् ।

नवलपरासीको गैँडाकोट नगरपालिकाको प्रवर्द्धन तथा नव जागरण ग्रामीण विकास केन्द्रको आयोजनामा सञ्चालन हुन लागेको यस प्रतियोगिताको सह-आयोजक नवलपुर जिल्ला क्रिकेट सङ्घ रहेको छ। राष्ट्रिय स्तरको यस प्रतिस्पर्धामा सुदूरपश्चिमको टोलीले आफ्नो तर्फबाट प्रतिनिधित्व गर्नेछ ।

प्रतियोगिताको उपाधि विजेताले नगद तीन लाख रुपियाँ र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। राखेप र नेपाल क्रिकेट सङ्घसँगको समन्वयमा हुने यस्ता प्रतियोगिताले मोफसलमा क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास गरिएको छ ।