पारिवारिक सम्बन्ध र भावनाको कथा बोकेको चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनमा
काठमाडौँ, फागुन २ । पारिवारिक मूल्यमान्यता र मानवीय संवेदनालाई मुख्य विषयवस्तु बनाइएको चलचित्र ‘श्री बुकुरो’ शुक्रवारदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ । सुदीप भुपाल सिंहको निर्देशनमा तयार भएको यो चलचित्रले एउटी आमाको आफ्नो परिवारप्रतिको समर्पण र चाहनालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
चलचित्रको शीर्षकमा रहेको ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ भने ‘बुकुरो’ को अर्थ सानो घर भन्ने हुन्छ । एक आमा र उनका तीन छोराहरूको कथामा आधारित यस चलचित्रले कान्छो छोराको विवाहको तयारीका क्रममा उत्पन्न हुने विभिन्न परिस्थिति र पारिवारिक उतारचढावलाई चित्रण गरेको छ ।
वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले झन्डै ५० वर्ष लामो आफ्नो कला यात्रामा यसपटक कथालाई नै नेतृत्व गर्ने शक्तिशाली भूमिका निर्वाह गर्नुभएको छ। आफ्नो भूमिकाका बारेमा चर्चा गर्दै उहाँले भन्नुभयो, “यस चलचित्रले घरलाई केवल निर्जीव संरचना मात्र नभई भावना र स्मृतिहरूको सङ्गमका रूपमा प्रस्तुत गरेको छ । परिवार जोड्ने र एकताको सन्देश दिने भएकाले यो पूर्णतः पारिवारिक चलचित्र बनेको छ ।”
निर्देशक सिंहले वर्तमान समयमा विशेष अवसर वा चाडपर्वमा मात्रै भेला हुने पारिवारिक अवस्थालाई लक्षित गर्दै, परिवार सधैँ साथमा रहनुपर्छ भन्ने आमाको पवित्र चाहनालाई चलचित्रमा समेटेको बताउनुभयो। यो चलचित्रले दर्शकलाई आफ्नै परिवार र सम्बन्धहरूको गहिराइ महसुस गराउने विश्वास निर्माण पक्षको छ ।
चलचित्रमा अभिनेत्री गिरीका साथै आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ । आधुनिक व्यस्तताका कारण छुट्टिएका परिवारलाई आमाको प्रयासले कसरी एकीकृत बनाउँछ भन्ने सन्देशमूलक कथाले दर्शकको मन जित्ने अभिनेता आशिर्वाद क्षेत्रीले बताउनुभयो ।