१६औँ पवित्रहाङमा गोल्डकपको उपाधि पाँचथरको दारिम्बा फुटबल क्लबलाई

काठमाडौँ, फागुन ३ । इलामको माङसेबुङमा सम्पन्न १६औँ संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ महिला फुटबल प्रतियोगिताको उपाधि पाँचथरको दारिम्बा फुटबल क्लबले जितेको छ । शनिबार माङसेबुङ–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा सम्पन्न फाइनल खेलमा साबिक विजेता जनता सेभेन स्पोर्ट्स क्लब, इलामलाई ४-२ गोल अन्तरले पराजित गर्दै दारिम्बाले उपाधि चुमेको हो ।

खेलको संक्षिप्त विवरण
प्रतिस्पर्धात्मक फाइनल खेलको दोस्रो मिनेटमै जनता सेभेनकी रेखा विष्टले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, उक्त अग्रतालाई दारिम्बाले लामो समय टिक्न दिएन । खेलको सातौँ मिनेटमा दारिम्बाकी स्मिता लिम्बूले हेडमार्फत गोल गरी खेललाई १-१ को बराबरीमा ल्याइन् ।

त्यसपछि आक्रामक लयमा देखिएको दारिम्बाका लागि १४औँ मिनेटमा सलिना कोइरालाले गोल गर्दै २-१ को अग्रता दिलाइन् भने २२औँ मिनेटमा स्मिता लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३-१ पुर्‍याइन् । २९औँ मिनेटमा जनता सेभेनकी कल्पना जिम्बाले एक गोल फर्काउँदै खेललाई ३-२ को स्थितिमा ल्याए पनि दोस्रो हाफमा दारिम्बाले पुनः पकड जमायो । खेलको ५३औँ मिनेटमा दारिम्बाकी गोलकिपर सुजिता तामाङले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् ।

पुरस्कार तथा सम्मान
उपाधिसँगै विजेता दारिम्बा फुटबल क्लबले नगद ३ लाख ७० हजार रुपियाँसहित ट्रफी हात पारेको छ भने उपविजेता जनता सेभेन स्पोर्ट्स क्लबले रु २ लाख ७० हजारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही ५ हजार ७० रुपियाँ सहित पुरस्कृत गरियो ।

  • उत्कृष्ट गोलकिपर : सुजता तामाङ (दारिम्बा)

  • उत्कृष्ट डिफेन्डर : मनिता तामाङ (दारिम्बा)

  • सर्वोत्कृष्ट खेलाडी : रेखा विष्ट (जनता सेभेन)

  • उदयीमान खेलाडी : नविना श्रेष्ठ (जनता सेभेन)

  • सर्वाधिक गोलकर्ता : सरिता नाथ (जनता सेभेन, ४ गोल)

प्रतियोगिताको पृष्ठभूमि
स्थानीय किरात धर्मगुरुआमा पवित्रहाङमा साँवा (लिङदेन) को ७०औँ जन्मोत्सवको अवसरमा आयोजित यस प्रतियोगिता माघ २५ गतेदेखि सुरु भएको थियो । आत्मापवित्र खेलकुद समितिको आयोजनामा सञ्चालित यस गोल्डकपमा नेपालका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङसहित जम्मा ८ वटा महिला फुटबल टोलीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिनुभयो ।