पाँचौँ गैँडाकोट मेयर कप : सेमिफाइनल समीकरण पूरा, सुदूरपश्चिम अन्तिम चारमा

काठमाडौँ, फागुन ४ । नवलपुरको गैँडाकोटमा जारी ‘पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’को सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई पराजित गरेसँगै प्रतियोगिताको अन्तिम चारको टुङ्गो लागेको हो ।

प्रतियोगिताको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र आयोजक गैँडाकोट मेयर्स ११ ले स्थान सुरक्षित गरेका छन् । यसअघि नै लुम्बिनीले बागमती प्रदेशलाई, मधेशले गण्डकी प्रदेशलाई र मेयर्स ११ ले कर्णाली प्रदेशलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरिसकेका थिए । आज हुने पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश भिड्नेछन् भने दोस्रो खेलमा आयोजक मेयर्स ११ ले लुम्बिनी प्रदेशको सामना गर्नेछ ।

आइतबार भएको निर्णायक खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि ६१ रनको सहज जित दर्ता गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि आशिष तिरुवाले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ४ छक्का र ३ चौकाको मद्दतले ४७ रन जोडे । त्यस्तै, टेक रावतले ३८, कप्तान किरण ठगुन्नाले अविजित २८ र लोकेन्द्र चन्दले २० रनको योगदान दिए । कोशी प्रदेशका ज्ञानेन्द्र श्रेष्ठले २ विकेट लिए भने श्रवन किस्कु, रोहन शाह र कृतिक कमातले १-१ विकेट झारे ।

१६१ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश १९.१ ओभरमा ९९ रनमै समेटिन पुग्यो । कोशीका लागि कृतिक कमातले १९ र गौरव कटवालले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमका बलरहरू कैलाश ऐर, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले समान २-२ विकेट लिँदै विपक्षी टोलीलाई सस्तैमा समेटे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिमका आशिष तिरुवा ‘म्यान अफ दि म्याच’ घोषित भए ।

नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा सञ्चालित यस प्रतियोगितामा सात प्रदेशका सात टोली र आयोजकको एक गरी कुल आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित रु. ३ लाख र उपविजेताले रु. २ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

आयोजक संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’लाई २५ हजार, उत्कृष्ट ब्याटर, बलर, फिल्डर र विकेट किपरलाई जनही १५ हजार रुपियाँ प्रदान गरिनेछ । यस्तै, ‘बेस्ट क्याच अफ दि टुर्नामेन्ट’लाई १० हजार र प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई ५ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ । नवप्रतिभा खेलाडीलाई समेत विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।