गैँडाकोट मेयर कप क्रिकेट : लुम्बिनी र मधेस प्रदेश फाइनलमा प्रवेश

काठमाडौँ, फागुन ४ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालित ‘पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता’ को उपाधिका लागि लुम्बिनी प्रदेश र मधेस प्रदेश भिड्ने भएका छन् । सोमबार गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा सम्पन्न सेमिफाइनल खेलहरूमा जित निकाल्दै दुवै टोलीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशले आयोजक गैँडाकोट मेयर्स ११ लाई ४४ रनले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८१ रनको बलियो योगफल खडा गरेको थियो । लुम्बिनीका कप्तान देव खनालले विस्फोटक ब्याटिङ गर्दै ५० बलमा ६ छक्का र ५ चौकाको मद्दतले ७४ रन जोडे। त्यस्तै, प्रज्वल थापाले ३८ र सम्राट भुसालले २७ रनको योगदान दिए। बलिङतर्फ मेयर्स ११ का चन्द्रकान्त पौडेलले ४ विकेट लिए ।

१८२ रनको लक्ष्य पछ्याएको गैँडाकोट मेयर्स ११ ले १९.५ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। मेयर्स ११ का लागि दीपक बोहोराले ४४ र हरि चौहानले ४२ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । लुम्बिनीका सलाउद्दिन खानले घातक बलिङ गर्दै ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए भने वीरबहादुर घर्ती मगरले ४ विकेट चट्काए ।

दोस्रो सेमिफाइनलः मधेस प्रदेशको कठिन जित
दोस्रो सेमिफाइनलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो। सुदूरपश्चिमले दिएको १५३ रनको लक्ष्य मधेस प्रदेशले १८.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। मधेसको जितमा पवन सर्राफले अविजित ५१ रनको अर्धशतकीय पारी खेले। मयन यादवले ३८ र कप्तान अनिलकुमार शाहले ३३ रनको योगदान दिए। बलिङतर्फ सुदूरपश्चिमका कैलाश ऐरले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १५२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान किरन ठगुन्नाले ३४ र रोशन साउदले २९ रन बनाएका थिए। मधेसका रञ्जित कुमारले ४ र अविशेख तिवारीले ३ विकेट लिए । 

पुरस्कार र फाइनल समीकरण
प्रतियोगिताको फाइनल खेल मङ्गलबार बिहान लुम्बिनी र मधेस प्रदेशबीच हुनेछ। जिल्लाकै सर्वाधिक धनराशिको यस प्रतियोगितामा सात प्रदेश र आयोजक गरी आठ टोली सहभागी थिए । प्रतियोगिताको विजेताले नगद ३ लाख रुपियाँ र उपविजेताले २ लाख रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् ।