आहा रारा पोखरा गोल्डकप: मनाङलाई हराउँदै आयोजक सहारा क्लब फाइनलमा

काठमाडौँ, फागुन ६ । आयोजक सहारा क्लब पोखरामा जारी ‘आहा रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा बुधबार सम्पन्न रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै सहाराले उपाधि नजिकको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा ५-५ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा मनाङका कप्तान सविन श्रेष्ठको प्रहारलाई सहाराका गोलरक्षक टिकेन्द्र थापाले विफल तुल्याएपछि सहाराको जित सुनिश्चित भएको हो ।

सहाराका लागि कप्तान सुशील लामा, विक्की चामलिङ राई, आशिष गुरुङ, मुकुन्दकुमार न्युरे, शिसश थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरेका थिए । मनाङका तर्फबाट आशिष श्रेष्ठ, गिदोन नोआ क्यारेमेह, रोनिश राजवक, दीपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

सहारा क्लब नौ वर्षपछि यस प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो । यसअघि वि.सं. २०७३ सालमा फाइनल पुगेको सहारा त्यतिबेला मनाङसँगै पराजित भएको थियो । यस जितसँगै सहाराले पुरानो हारको बदला समेत लिएको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहीबार जावलाखेल युथ क्लब र उज्वेकिस्तानको आभा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । माघ २७ गतेदेखि सुरु भएको यस प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार आयोजना हुनेछ ।

प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपियाँ र उपविजेताले ७ लाख १ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले स्कुटर र विधागत उत्कृष्ट पाँच खेलाडीले जनही २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।