दाङ घटनाको विरोधमा काठमाडौँमा अनेरास्ववियुको प्रदर्शन, बालेन साहको पुतला दहन

काठमाडौँ, ८ फागुन । दाङमा नेकपा (एमाले) को पार्टीकाे झण्डा जलाइएको विरोधमा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार साँझ प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताहरूले विरोधस्वरुप पुतला दहन गरेका हुन् ।

अनेरास्ववियुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहको पुतला दहन गर्दै दाङ घटनाको कडा प्रतिवाद गरेको हो ।

गत बिहीबार राति दाङको तुलसीपुरमा रास्वपाका सभापति रवि लामिछानेको स्वागतका लागि आयोजित कार्यक्रममा रास्वपाका कार्यकर्ताहरूले एमालेको चुनाव चिह्न ‘सूर्य’ अङ्कित झण्डा जलाएका थिए । सोही घटनालाई लिएर एमाले र रास्वपाका कार्यकर्ताहरूबीच देशका विभिन्न स्थानमा तिक्तता बढेको छ ।

पुतला दहन कार्यक्रममा सहभागी विद्यार्थी नेताहरूले राजनीतिक दलको झण्डा जलाउनु अलोकतान्त्रिक र अराजक कार्य भएको भन्दै आपत्ति जनाएका छन् । झण्डा जलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन अनेरास्ववियुले प्रशासनसँग माग गरेको छ ।